विराटनगर । विराटनगरमा १ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका प्रहरीमा कोरोना पोजेटिभ देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए ।
कोरोना पोजेटिभ देखिएपछि विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा बुधबार पठाएको एसपी पोखरेलले बताए । संक्रमित देखिएको प्रहरी एक सातादेखि विदामा बसेर होम क्वारेन्टिनमा बसेका एसपी पोखरेलले जानकारी दिए ।
एक जना प्रहरीमा संक्रमित देखिएपछि बुधबार २२ जना प्रहरीको स्वाब संकलन गरिएको छ । प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए ।
प्रदेश १ मा आज ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गरिएका मध्ये ३६ हजार ७ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।