भण्टाबारी/ सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो । यसर्थ कोलकाताको जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको कोशी ब्यारेजको आयु सकिएको ८ वर्ष पुगेको छ ।
तर, आवश्यक मर्मत सम्भार गरिएको छैन । आयु सकिएको मिति लम्बिँदै जाँदा पानीको बहाव थेग्ने कोशी ब्यारेजको क्षमतासमेत दिन प्रतिदिन कमजोर हुँदै गएको छ । जसले गर्दा बर्सेनि कोशी ब्यारेजमा खतरा बढ्दो क्रममा छ । कोशी ब्यारेजको इतिहासमा अहिलेसम्म दुईपटक ५६ वटै ढोका खोलिएको छ । ब्यारेज निर्माण भएको ६ वर्षपछि अर्थात् सन् १९६८ मा पानीको बहाव ९ लाख १३ हजार क्यसेक पुग्दा सबै ५६ वटै ढोका खोलिएको थियो भने एक वर्षअघि सप्तकोशी नदीमा पान ीको बहाव ३ लाख ७१ हजार नाघेपछि दोस्रोपटक ५६ वटै ढोका खोलिएको थियो ।
मर्मतसम्भार नहुँदा कुनै बेला ९ लाख क्युसेक पानीको बहाव थेग्ने कोशी ब्यारेज अहिले ३ लाख ५० हजार भन्दामाथि पुग्दा खतरा बढ्ने गरेको छ । निर्माण भएको ५८ वर्ष पुगे पनि ठोस मर्मत–सम्भार नभएकोले जुनसुकै बेला भत्किन सक्ने खतरा रहेको स्थानीय बताउँछन् । मङ्गलबार बिहान ८ बजे सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ४२ हजार ९ सय ७० क्युसेक मापन हुँदा ५६ मध्ये ४८ वटा ढोका खोलिएकोमा साँझ ५ बजेसम्म आइपुग्दा पानीको बहाव घट्दो क्रममा थियो । मङ्गलबार साँझ ५ बजेको मापनअनुसार २ लाख ९६ हजार ३५ क्युसेक पानीको बहाव मापन हुँदा ३८ वटा ढोका खोलिएका थिए ।
आयु सकिएको कोशी ब्यारेज पानीको बहाव थेग्न नसकेर भत्किएको खण्डमा त्यसबाट ठूलो धनजनको क्षति हुने देखिन्छ । तर यसतर्फ न त नेपाल सरकारले कुनै पहल गरेको पाइन्छ, न त भारत सरकारले नै मर्मत–सम्भारमा तदारुकता देखाएको पाइन्छ । १२ वर्षअघि २०६५ साल भदौ २ गते सामान्य बहावमै कोशीको पूर्वी तटबन्ध भत्किँदा ठूलो धनजनको क्षति भएको थियो ।
सोही कुरा सम्झिँदै प्रत्येक वर्ष सप्तकोशीमा पानीको बहावमा उतार–चढाव आउँदा कोशी क्षेत्रका बासिन्दा त्रसित हुने गरेको कोशी गाउँपालिका वडानम्बर ८ की वडासदस्य एकावरी मण्डल बताउँछिन् । सप्तकोशीमा पानीको बहाव उच्च हुँदा तटबन्ध भत्किने र बाढी आउने डरले कोशी आसपास क्षेत्रका बासिन्दा त्रसित हुँदै आएको उनको कथन छ । ब्यारेजको आयु सकिएको र नदीमा बालुवा पुरिएर खतरा बढेको मण्डलले बताइन् ।
कोशी सम्झौताअनुरूप कोशी ब्यारेज मर्मत–सम्भार गर्ने जिम्मेवारी भारत सरकार हो । तर, कोशी ब्यारेजको आयु सकिएको ८ वर्ष पुग्दासमेत भारत सरकारले मर्मत–सम्भार गर्न तत्परता देखाएको पाइँदैन । वि.सं. २०११ वैशाख १२ गते नेपाल–भारतबीच भएको सम्झौताअनुसार पुलको रेखदेख, मर्मत, ब्यारेजको ढोका खोल्ने, बन्द गर्ने काम भारतीय पक्षको हो भन्ने उल्लेख छ । तर, भारत सरकारले आफ्नो फाइदाअनुसार कोशी ब्यारेजलाई प्रयोग गर्दै आएको पाइन्छ ।
पानीको बहावले आफ्नो भू–भाग खतरामा पर्ने भएमा ढोका बन्द गर्ने र अरूबेला खोल्ने काम गर्दै आएको बताइन्छ । सोही कारण वर्षाको समयमा सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्र डुबानमा पर्दै आएका छन् । भारतसँग नेपालले गरेको कोशी सम्झौता पुनरावलोकन नभएसम्म समस्या समाधान नहुने जानकारहरू बताउँछन् ।