•  भूमिराज पराजुली

दमक / प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं। ५ मा विपन्न आवासका लागि १ अर्बभन्दा बढीका योजनाहरू परेका छन् । चालू आर्थिक वर्ष २०७७÷७८ का लागि विभिन्न योजनाबाट आवास निर्माण तथा खरको छानो विस्थापनका लागि एक अर्बभन्दा बढीको बजेट परेको जनाइएको छ ।
नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम र विपन्नलाई आवास कार्यक्रममार्फत् यस क्षेत्रमा रहेका हजारौं विपन्न नागरिकले नयाँ घर पाउने भएका हुन् । कतिपयको खरको छानो हटाएर जस्तापाताको छानो छाइने भएको छ । खरको छानो फ्याँकेर टिनको छानो लगाउने नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका ३ वटा पालिकामा हरेक वर्ष न्यूनतम् १ हजार ४ सय घरको छानो फेरिँदै आएको छ ।

चालू आर्थिक वर्षमा थप १ हजार ३ सय ३० परिवार सङ्ख्या थप गरिएको छ । जसमा २ हजार ७ सय ३० घरपरिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम तय भइसकेको तथा यसको कार्यान्वयनसमेत शुरु भइसकेको प्रधानमन्त्रीका निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए । जसमा दमक र गौरादह नगरपालिकामा क्रमशः ६ सय १६ र ६ सय ६३ त्यसैगरी कमल र गौरीगञ्ज गाउँपालिकामा ८ सय ३० र ६ सय २७ घरको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जसका लागि हरेक घरलाई ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । छानो फेर्ने कार्यक्रमका लागि मात्र सो निर्वाचन क्षेत्रमा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ विनियोजन भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसैगरी घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम जनता आवास कार्यक्रम अन्तर्गत पनि १ सय २० वटा घर बन्ने भएका छन् । एक घर निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ परियोजना अन्तर्गत आउने र कतिपय पालिकाहरूले त्यसमा अपुग भए थपेर बनाइदिने गरेको समेत सचिवालय सदस्य थापाले बताए । अघिल्लो वर्ष दमक नगरपालिकाले नमूना बस्ती निर्माण र जनता आवास कार्यक्रमका लागि रकम थप गरेर कार्यक्रम सम्पन्न गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । चालू आर्थिक वर्षमा पनि सङ्घबाट आउने योजनाहरूमा साझेदारी गर्नका लागि ४ करोड विनियोजन गरिएको र आवास योजनामा पनि थप गर्न आवश्यक ठहरिएमा बोर्डले निर्णय गरेर रकम थप गरी विपन्नलाई सुरक्षित आवास दिने बताए । यो वर्ष दमक र गौरादह नगरपालिकामा ३२–३२ वटा तथा कमल र गौरीगञ्ज गाउँपालिकामा २८–२८ वटा घर बनाई विपन्न नागरिकलाई दिने जनाइएको छ । यसका लागि दमक नगरपालिकाले बेग्लै एक करोड रुपैयाँसमेत विनियोजन गरेको छ भने परियोजना अन्तर्गत ४२ करोड रुपैयाँ आउने सुनिश्चित भएको छ ।

त्यसैगरी सांसद् पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा २७ वटा नमूना घर पनि बन्ने भएका छन् । जस अन्तर्गत दमक नगरपालिकामा १५ वटा र गौरीगञ्ज गाउँपालिकामा १३ वटा नमूना घर बन्ने भएका हुन् । आवास योजना अन्तर्गत नै तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा विपन्न नागरिकलाई आवास दिने कार्यक्रम तय भएको बताइएको छ । सङ्ख्याको यकिन नभए पनि सो परियोजना अन्तर्गत घर बनाइदिने टुङ्गो लागिसकेको थापाले जानकारी दिए ।