धरान/ कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरूलाई नेपाल पत्रकार महासङ्घ शाखा बेलायतले २३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

नेपाल पत्रकार महासङ्घले स्थापना गरेको कोषमा बेलायत शाखाले २३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । शनिबार लण्डनमा जुममार्फत् बसेको शाखाको बैठकले निर्णय गर्दै २० लाख रुपैयाँ अक्षयकोषमा राखिने र ३ लाख रुपैयाँ कोरोना प्रभावित श्रमजीवी पत्रकारहरूको सहयोगार्थ तत्काल खर्च गरिने निर्णय भएको महासङ्घका बेलायत शाखा अध्यक्ष नरेश खपाङ्गी मगरले जानकारी दिए ।

महासङ्घले स्थापना गरेको आपतकालीन कोषमा ३० लाख रुपैयाँ जम्मा भइसकेको छ । समितिले कोषमा कम्तीमा १ करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई साथ दिनका लागि महासङ्घको बेलायत शाखाले नगद सहयोग गर्न लागेको हो । अध्यक्ष खपाङ्गीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरूलाई प्रोत्साहन गर्नका लागि एक हजार पाउण्ड राशिको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि भएको छ ।

सहयोग रकम महासङ्घको आपतकालीन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय भएको उनले बताए । बैठकमा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । अध्यक्ष आचार्यले कोभिड– १९ का कारण नेपालमा करिब २ हजार पत्रकारहरूले रोजगारी गुमाएको बताए ।

उनका अनुसार देशभरि ७ सय ५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरू बन्द भएकाले आपतकालीन कोष खडा गरिएको हो । आपतकालीन कोषका लागि बेलायत शाखाले गर्न लागेको सहयोगप्रति महासचिव विष्टले आभार व्यक्त गरे ।