धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।
उनी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका विभागीय प्रमुख तथा स्त्रीरोग विशेषज्ञ पनि हुन् । बीपी प्रतिष्ठानमा तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि उक्त पद एक वर्षदेखि रिक्त रहेको थियो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको
सिफारिसमा सह–कुलपति स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रा.डा.रेग्मीलाई आइतबार रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् । वाग्लुङको बलेवा पैयुँपाटा–१ मा जन्मेका प्रा .डा. रेग्मीले सन् २०११ मा ताइवानमा यङ गाइनोकोलोजिकल अवार्ड, सन् २०१२ मा जर्मनमा इण्टरनेशनल कण्टिनेण्ट सोसाइटी अवार्डलगायत थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छन् ।
उनी मुलुककै होनहार युवा चिकित्सकमध्येका हुन् । उनी फिस्टुला फ्री नेपालका संस्थापक पनि हुन् । सन् २००२ मा भारतको तामिलनाडुको मधुराई मेडिकल युनिभर्सिटीबाट एमबिबिएस गरेपछि सन् २००६ मा बीपी प्रतिष्ठानबाट एमडी गरेका प्रा.डा. रेग्मीले चिकित्सा क्षेत्रलाई पैसा कमाउने माध्यम बनाउन नहुने धारणा राख्दै आएका छन् ।
उनी पछिल्लो समय महिलामा हुने फिस्टुला र आङ खस्ने समस्यामाथि केन्द्रित भएर काम गर्दै आएका छन् । प्रा.डा. रेग्मी विगत १८ वर्षदेखि प्रतिष्ठानमा स्त्री तथा प्रसूति विभागमा कार्यरत छन् । सन् २००९ देखि दक्षिण एशियामै पहिलो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिस्टुलाको संस्थागत रूपमा निःशुल्क शल्यक्रिया गर्ने कामलाई निरन्तरता दिएकोमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रसार गरेपछि उनी एकाएक चर्चामा आएका थिए ।
प्रतिष्ठानको रजिष्ट्रार भएपछि उनले भने, ‘म यो बीपी प्रतिष्ठानमा रजिष्ट्रार हुनु ठूलो कुरो होइन, तर यसको आफ्नो पहिचान बचाएर विश्वस्तरीय उपचार सेवा दिन सक्नु नै ठूलो कुरा हो, म प्रतिष्ठानमा आर्थिक पारदर्शिता र जवाफदेहिता बनाउन प्रयास गर्नेछु ।’ उनले प्रतिष्ठानमा दक्ष विशेषज्ञ चिकित्सक रहेकाले आम सर्वसाधारणको उपचार सेवामा पहुँच पुर्याउने जनाउँदै आफूले रजिष्ट्रारको जिम्मेवारी अन्तरमनदेखि नै पूरा गर्ने बताए ।
प्रतिष्ठानको रजिष्ट्रार पदका लागि उपकुलपति गिरीले डा. रेग्मीसहित प्रतिष्ठानको पहिलो म्यानेजर रामप्रकाश पञ्जियार र नेपाल सरकारको सह–सचिव चूडामणि तिम्सिनाको नाम पनि सिफारिस गरेका थिए । प्रा.डा. रेग्मी प्रधानमन्त्री केपी ओलीनिकटका मानिन्छन् । प्रम ओलीले मौखिक रूपमै स्वास्थ्यमन्त्री ढकाललाई डा. रेग्मीलाई सिफारिस हुनासाथ प्रतिष्ठानको रजिष्ट्रार पदमा नियुक्त गर्न निर्देशन दिएको बताइएको छ ।