- सन्तवीर लामा
धनकुटा / छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरिएको हो । छ वटा वडा रहेको छथरजोरपाटी गाउँपालिकाका सबै वडामा कृषक समूह बनाई शतप्रतिशत अनुदानमा आँप, लिचि, अनार, कागती, सुन्तला र एभोकाडोका गरी ५१ हजार ७५५ वटा विरुवा वितरण गरिएको हो ।
जसमा आँपका एक हजार ५ सय ५०, लिचीका ४ हजार, ५ सय, अनारका दुई हजार, कागतीका १६ हजार सय १०, सुन्तलाका तीन हजार र एभोकाडोका २४ हजार ४ सय ९५ वटा विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार विरुवाका साथै फुडूप्रे, पाइप, माटो खन्ने मेसिन पनि वितरण गरिएको छ ।
संघीय सरकारबाट ५० लाख बजेट आए पनि ६२ लाख २५ रुपैयाँ खर्च भएको अध्यक्ष लिम्बूको भनाइ छ । किसानलाई विरुवा वितरण गर्दा विरुवा रोप्न तयारी अवस्थामा खाल्डो खनेको हुनुपर्ने, मलखाद र सिचाइका लागि पोखरी तयारी भएको हुनुपर्ने मापदण्ड तय गरिएको थियो । गाउँपालिकाको प्राविधिक टोलिले मापदण्डको अनुगमन गरेर सिफारिस गरेका कृषक समूहलाई विरुवा वितरण गरिएको हो ।
परम्परागत खेतीसँगै किसानलाई फलफूलतर्फ आकर्षित गर्ने योजनाका साथ विरुवा वितरण गरिएको हो । यो कार्यक्रम आगामी वर्ष पनि निरन्तर गर्ने गाउँपालिकाले जनाएको छ । यता विरुवा पाएपछि किसानहरु खुसि भएका छन । कृषिलाई अझै उचाइमा र्पुयाउन धेरै लगानी आवश्यक रहेको किसान विष्णु पारघरी सुव्वाले बताए ।