धरान (ब्लाष्ट) एनआइसी एसिया बैङ्कले तीन वटा क्षेत्रमा सुपर चमत्कारिक याेजना सार्वजनिक गरेको छ । कर्जामा अधिकतम २ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्ने सुविधा ल्याएको छ ।

सुपर चमत्कारिक कर्जा अन्तर्गत घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जा रहेका छन् । यो कर्जा प्राप्त गर्न आवश्यक प्रक्रिया तथा कागजात पूरा भएको ४८ घण्टामा निर्णय हुने उपप्रादेशिक कार्यालय धरानका प्रमुख दिवाकर भट्टराईले बताए । घर कर्जामा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माणका लागि जग्गा खरिदलगायतमा सुविधा दिने भएको छ । जसमा सेवाग्राहीले अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा रहेको छ । यो कर्जा न्यूनतम ५ वर्षदेखि ३० वर्षसम्म सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै सवारी कर्जामा रातो नम्बर प्लेट, व्यवसाय र विद्युतीय सवारीका लागि कर्जा प्राप्त गर्न सकिने भएको छ । यसमा कर्जा स्थानान्तरण (स्वाप) समेत गर्न सक्ने गरी सुविधा ल्याएको छ । स्वाप गर्दासमेत प्रशासनिक खर्च नलाग्ने सुविधा रहेको प्रमुख भट्टराईले बताए । उनका अनुसार सवारी कर्जाको हकमा सवारीमात्रै धितो रहेमा अधिकतम १० वर्षसम्म र सवारी र जग्गाजमिन धितो भएको खण्डमा भने १५ वर्षसम्म सुविधा दिने भएको छ । पुराना सवारीको हकमा पनि यो सुविधा प्रदान गरिने उनले बताए । सेवाग्राहीले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

व्यवसायको हकमा भने साना तथा मझौला व्यवसायका लागि १ करोडसम्म कर्जा सीमा तोकिएको छ । व्यवसायीले आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रूपमा प्रयोग गर्न सक्ने बताइन्छ । यी कर्जामा एक वर्षसम्म ८.२५ प्रतिशत मात्रै ब्याजदर लाग्ने भएको छ भने प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत मात्रै लिने गरी व्यवस्था गरिएको छ । त्यसपछि भने राष्ट्र बैङ्कको नीतिअनुसार कर्जाको ब्याजदरमा थपघट हुने भएको छ । उनका अनुसार अन्य बैङ्कको तुलनामा ब्याजदर नपर्ने बताए । बैङ्कको हाल ३ सय २६ वटा शाखा कार्यालय, ४ सय ६४ एटिएम, एक सय १ विस्तारित काउन्टर र ६१ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । देशभर २१ लाख भन्दा बढी ग्राहक रहेको दाबी बैङ्कको छ ।