झापा । एनआईसी एशिया बैंकले सवारी, घर र व्यवसायिक कर्जासहितको योजना सार्वजनिक गरेको छ । वैकले सुपर चमत्कारिक योजना अन्र्तगत ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्क लाग्ने तीनवटा योजना ल्याएको शुक्रबार बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।

सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा लिन सक्ने छन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकाले सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न सक्नेछन् । यो योजनाको लागि अधिकतम २ करोड कर्जा सीमा तोकिएको छ ।

सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था रहेको उपक्षेत्रिय कार्यालय बिर्तामोडका प्रवन्धक दशरथ पराजुलीले जानकारी दिए ।

त्यसैगरी सुपर चमत्कारिक घर कर्जा अन्तर्गत ग्राहकले घर निर्माण, घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन सकिने प्रवन्धक पराजुलीले जानकारी दिए । उनले बैकले न्यूनतम ५ देखि ३० वर्षसम्म कर्जाको समयावधि तोकेको बताउँदै भने ‘अधिकतम १ करोड ५० लाखसम्म कर्जा दिन सकिने छ ।’ जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको उनले बताए ।

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने जनाइएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ग्राहकले समेत कर्जा स्वाप गर्न सक्ने प्रवन्धक पराजुलीले बताए ।

साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित बनेको अवस्थालाई मध्येनजर गर्दै बैंकले प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना अघि सारेको वैकका बिर्तामोड उपक्षेत्रिय सम्वद्ध प्रवन्धक सरोज ढुङ्गानाले बताए । उद्योगी तथा व्यवसायीले व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यो कर्जाको सीमा १ करोडसम्म तोकिएको छ ।