धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले थप ९० जना यातायात मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ ।

गत चैतदेखि सार्वजनिक यातायात संचालनमा नआएका कारण बसमा काम गर्ने यातायात मजदुरहरु समस्यामा परेका थिए । उनीहरुको समस्यामा केही मलम लगाउन धरान उपमहानगरपालिका १५ न वडाध्यक्ष नरेश इवारमको सकृयतामा उक्त राहत वितरण गरिएको हो ।

वस चालक, सहचालक, हेल्पर, वुकिङका मजदुरहरुलाई १५ केजीको दरले चामल वितरण गरिएको मजदुर संगठनका रधान अध्यक्ष कमल भट्टराईले जानकारी दिए । आफु पनि लामो समय यातायात क्षेत्रमा काम गरेकाले उनीहरुको समस्या बुझोको बताउदैं यातायात मजदुरहरुलाई भोकै हुन नदिने वडाध्यक्ष इवारमले बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटीको पहलमा धरानमा १ हजार ५ सय बढि यातायात मजदुरहरुलाई राहत वितरण गरिएको अध्यक्ष भट्टराईले बताए ।
राहत वितरण कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लक्ष्मी बाँनिया, प्रदेश १ उपाध्यक्ष रविन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।