विराटनगर/ असारको अन्त्यसम्ममा प्रदेश १ मा झण्डै ७० प्रतिशत प्रतिशत रोपाइँ भइसकेको छ । आइतबार साँझसम्म प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार ६९.८३ प्रतिशत रोपाइँ भएको हो ।

मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार प्रदेश १ मा धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ३८ हजार ७ सय दशमलव ४१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको जानकारी दिए । यो कुल क्षेत्रफलको ६९ दशमलव ८३ प्रतिशत हो ।

अन्न भण्डारको रूपमा हेरिएको तराईको झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी ७३ दशमलव १६ प्रतिशत रोपाइँ भएको जनाइएको छ । जसमध्ये हालसम्म झापामा ७५, मोरङमा ७० र सुनसरीमा ७५ प्रतिशत रोपाइँ भएको छ । तराईको झापा, मोरङ र सुनसरीमा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमध्ये १ लाख ६५ हजार १ सय ८५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको हो ।

यसैगरी मध्य पहाडको इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र खोटाङमा ७६ प्रतिशत र उच्च पहाडको ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा हालसम्म ५८.४ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मध्य पहाडी क्षेत्रमा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमध्ये हालसम्म ५८ हजार ८ सय २७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

गतवर्ष असार ३२ सम्म प्रदेशमा ३६ दशमलव २८ प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष चाँडै मनसुन सक्रिय भएको कारणले रोपाइँ चाँडो भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।