इनरुवा/ कोरोना भाइरसले विश्व समुदाय आक्रान्त बनिरहँदा अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नेमा सबैभन्दा पहिलो नाम स्वास्थ्यकर्मीहरूकै आउँछ ।

तर अहोरात्र रोगको निदानमा खटिने तिनै स्वास्थ्यकर्मीहरू भने काम अनुसारको सन्तुष्टि पाउन नसकेको गुनासो गर्छन् । चाहे त्यो सेवा सुविधा होस् या त ड्युटीमा खटिएअनुसारको प्रशंसा । कोरोना भाइरस नियन्त्रण तथा चेकजाँचमा खटिएका उनीहरूले आफू अनुकूलको काम गर्ने वातावरण नै नपाउने गरेको गुनासो पोखेका छन् । धेरैजसो स्वास्थ्यकर्मीहरूको बुझाइमा महामारीमा समेत राजनीति भइरहेको छ ।

कोरोना परीक्षणदेखि लिएर क्वारेण्टिनमा बसाउने र आइसोलेसनमा पठाउनेसम्मका विषयमा दलीय दबाव अनि सोर्स र फोर्सको सामना गर्नु परिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको जिल्लास्तरीय महामारी समीक्षा कार्यक्रममा सहभागी स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले सोही आशयको एकैखाले धारणा व्यक्त गरेका छन् । उनीहरू सबैजसोले कोरोना परीक्षणदेखि क्वारेण्टिन र आइसोलेसन पठाउनेसम्मका विषयमा दबावमा रही काम गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको बताए ।

इनरुवा अस्पतालका मेसु डा. सन्तोष राईले चेकजाँच मात्र नभएर सङ्क्रमित भेटिए कहाँ राख्ने र पठाउने जस्ता विषयमा सास्ती झेल्नुपरेको अनुभव सुनाए । उनले भने, ‘एक त स्रोत साधन अभावका बीच काम गर्नुपरेको छ । स्वयम् सङ्क्रमित हुनसक्ने जोखिमका बावजुद खटिएका स्वास्थ्यकर्मी उपर गरिने व्यवहार सन्तोषजनक छैन । त्यसमा पनि राजनैतिक दबाव अनि सोर्स–फोर्सले थप तनाव दिलाउँछ ।’ उनी थप्छन्, ‘के गर्नु स्वास्थ्यकर्मी परियो । जिम्मेवारीबाट पन्छिनु पनि त भएन् । तनाव सहेरै भए पनि सेवा दिइरहेका छौं ।’

डा. राईको भनाइ स्वास्थ्यकर्मीको मनोबल उच्च पारिनुपर्छ भन्नेतर्फ केन्द्रित थियो । उनले भने, ‘स्वास्थ्यकर्मीलाई सहज वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गरिनु पर्छ ।’
स्वास्थ्य कार्यालय सुनसरीमा रही कोरोना महामारी फोकल पर्सनको जिम्मेवारी निर्वाह गर्दै आएकी सिर्जना लिङ्थेपसमेत तनाव र दबावमा काम गर्नु परिरहेको बताउँछिन् । जसलाई उनले चुनौती र असहजताका रूपमा लिएकी छन् ।

उनी भन्छिन्, ‘स्वाब सङ्कलनदेखि कन्ट््याक्ट ट्रेसिङ गर्नेलगायत जिल्लाभरको अपडेट राख्ने र माथिल्लो निकायमा फरवार्ड गर्नेसम्मको काममा भ्याई नभ्याई हुन्छ । बुझ्ने मान्छे कमै हुन्छन्, गरेको काममा जस दिनेभन्दा आफू अनुकूलको काम नभए दोष थोपर्ने र अनर्गल प्रचार गर्ने प्रवृत्ति हाबी छ ।’ लिङ्थेपले भनिन्, ‘स्वास्थ्यकर्मीलाई सहजरूपमा काम गर्ने वातावरण सिर्जना गरिनु पर्छ । अझ महामारीका बेला त झन् राजनीति लाद्न खोज्नु दुःखद् हो ।’

जिल्लास्तरीय समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले स्रोत साधनको अभावका बीच स्वास्थ्यकर्मीहरूले अहोरात्र आफ्नो भूमिका निर्वाह गरिरहेको बताए ।

प्रसाईले महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरूको सवालमा प्रदेश र सङ्घीय सरकारले विशेष प्याकेज ल्याउनु पर्ने मागसमेत गरे । उनले सरकारले दिलाउने भनेको सेवा सुविधाको प्रत्याभूतिमा समेत ध्यान दिइनु पर्ने बताए । घरपरिवार नभनी ज्यानको बाजी राखेर ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने काम गर्न नहुने उनको भनाइ थियो ।

जिल्लास्तरीय समीक्षा कार्यक्रममा कोरोना महामारी र त्यसपछिको जिल्लाको अवस्थासँगै रोकथाम तथा नियन्त्रणका सवालमा गरिएका कामका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा दिइएको जानकारीअनुसार समीक्षा कार्यक्रम चल्दै गर्दासम्म सुनसरीमा १ सय १ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जेठ ५ गते पहिलो कोरोना पोजेटिभ भेटिएयता कुल सङ्क्रमितमध्ये हालसम्म ८८ जना निको भइसकेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार सुनसरीमा बाहिरी जिल्लासमेतका गरी १ सय ४ जना सङ्क्रमित भेटिएका थिए । जसमध्ये जिल्लाले स्वाब सङ्कलन गरेकामध्ये कोरोना पोजेटिभ पाइएको सङ्ख्या १ सय १ हो ।

सुनसरीमा अब कोरोना पोजेटिभ भेटिएकामध्ये धरान, इटहरी, रामधुनी र बर्जुका गरी १३ जना मात्र उपचारको क्रममा छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार उनीहरू सबैको अवस्था सामान्य छ ।

सुनसरीमा सबैभन्दा बढी भोक्राहामा १९ जना सङ्क्रमित भेटिएका थिए । सबभन्दा कम दुहबी नगरपालिकामा १ जना कोरोना पोजेटिभ पाइएका थिए । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ । त्यसपछि दोस्रो नम्बरमा ११ देखि २० वर्ष उमेर समूह रहेको छ । ६१ वर्षभन्दा माथि कोरोना सङ्क्रमित भेटिएको सङ्ख्या २ मात्र छ ।

सुनसरीमा अहिलेसम्म ५ हजार १ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये १ सय १ जना पोजेटिभ भेटिएको हो । सङ्क्रमितमध्ये पुरुष ८३ जना छन् भने महिलाको सङ्ख्या १८ रहेको छ । त्यसैगरी २ हजार १ सय ७८ जनाको आरडीटी टेष्ट गरिएको छ ।

सुनसरीमा स्वाब सङ्कलनपश्चात् कोरोना पोजेटिभ पाइएकाहरू भने सबै बाहिरबाट आएका क्वारेण्टिनमा रहेकाहरू हुन् । सङ्क्रमितहरू धेरैजसो भारतबाट फर्किएका व्यक्तिहरू रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा समुदायमा कोरोना भेटिएको छैन । प्रसाईका अनुसार निको भएर घर फर्किनेको सङ्ख्या उल्लेखनीय भएकोले आत्तिनु पर्ने अवस्था नभए पनि स्वयम् सचेत र सजग रहन भने आवश्यक छ ।