धनकुटा/ धनकुटा नगरपालिका वडा नं. ५ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर छिन्ताङको मूलगेटदेखि कर्मीटारसम्मको हालै निर्माण सम्पन्न पक्की सडकको सोमबार उद्घाटन गरिएको छ ।

१ नम्बर प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयको ४५ लाख आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको पक्की सडकको एक समारोहको बीच उद्घाटन गरिएको हो । तीन सय ७० मिटर लामो पक्की सडक धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रजिअ केशवप्रसाद विमली र उपप्रमुख शकुन्तला बस्नतेले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

सडक उद्घाटनको अवसरमा बोल्दै नगरप्रमुख तामाङले देश र जनताको सुरक्षाको जिम्मेवारी लिएको सुरक्षा निकायका प्रमुखहरूले विकास निर्माणको काममा लागिपरेको भन्दै सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका अधिकृत तथा जवानहरूको प्रशंसा गरे । छिन्ताङ गुल्म मूलगेटदेखि कर्मीटार सडक निर्माण उपभोक्ता समितिको तर्फबाट सडक निर्माण गरिएको भए पनि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मले सडक निर्माण कार्यमा ठूलो सहयोग गरेको भन्दै प्रमुख तामाङले धन्यवाद दिए ।

नगरप्रमुख तामाङले सडक निर्माणको विषयमा अघिल्लो वर्ष विवाद देखिएको भए पनि यो वर्ष सहमतिमा काम भएको भन्दै उपभोक्ता समितिका पदाधिकारी, सदस्य एवम् स्थानीयवासीलाई धन्यवाद दिए । नगरपालिकाले सशस्त्र प्रहरी बलको क्याम्पभित्र अघिल्लो आर्थिक वर्षमा ८ लाख रुपैयाँ सहयोग गरेर ट्याङ्की निर्माण गरेको बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले दिगो विकासको लागि भरपर्दो निर्माण हुनुपर्नेमा जोड दिए । उपभोक्ता समितिमार्फत् निर्माण कार्य सम्पन्न भएको ३ सय ७० मिटर पक्की सडक गुणस्तरीय ढङ्गले निर्माण गरेर सम्पन्न गरेको आफूले पाएको बताए ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रकुमार राईको अध्यक्षतामा सम्पन्न सडक उद्घाटन समारोहमा उपभोक्ता समितिका सचिव पिर्थसिंह दाहालले सडक निर्माण कार्यको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उनले प्रदेश सरकारको ४५ लाख र उपभोक्ता समितिको ४ लाख ६४ हजार ८ सय ६४ रुपैयाँ लागतमा ३ सय ७० मिटर लामो र ६ मिटर चौडा पक्की सडकको निर्माण कार्य सम्पन्न भएको बताए । उनले कोरोना भाइरसको कारण लकडाउन हुँदा सडक निर्माण कार्यमा बाधा पु¥याए पनि सशस्त्र प्रहरी बलको हौसला र सहयोगको कारण समयमै निर्माण कार्य सम्पन्न गर्न आफूहरू सफल भएको बताए ।

सो अवसरमा धनकुटा नगरका उपप्रमुख शकुन्तला बस्नेत, वरखगण सल्लेरी ब्यारेकका गणपति भगवान थापा मगर, जिल्ला प्रहरी प्रमुख गोविन्द अधिकारी, सशस्त्र प्रहरी बल प्रमुख सचिन कर्माचार्य, पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सदस्य गोविन्द मैनालीले गरेका थिए । सो अवसरमा सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मूल सडक जाने नवनिर्मित पक्की सडकको बायाँ किनारमा वृक्षरोपणसमेत गरिएको थियो ।

sadak 1 sadakk