लक्ष्मीमार्ग/ सुन्दरहरैंचा नगरपालिका–९ मा रहेको बुधबारे कृषि बजारमा माछा मासुको व्यवस्थित बिक्री वितरणको लागि छुट्टै एक भवनको आइतबार उद्घाटन गरिएको छ ।

उक्त भवनको सोही वडाका वडाध्यक्ष राजकुमार कार्कीले उद्घाटन गरेका हुन् । तराई मधेस समृद्धि कोषको ३५ लाख र वडा कार्यालयको ५ लाख लागतमा सो भवन तथा माछा मासु घर निर्माण गरिएको हो ।

निर्माण कार्य सम्पन्न भएकाले यस भवनबाट अब माछा तथा मासु बिक्री वितरण गर्न सहज हुने भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले जनप्रतिनिधिले बाटो देखाउने तर उपभोक्ता जागरुक हुनुपर्ने बताए । उनले उद्घाटन मात्र हुनु राम्रो भन्ने भन्दा पनि यसपछि सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले अव्यवस्थितरूपमा लागिरहेको बजारमा यसरी एकता भएर नमूना भवन बनाएर माछा मासु बेच्ने मात्र होइन, अतिक्रमित जमिनसमेत बजारको नाममा आउने बताए । कृषकले उत्पादन गरेका कृषिउपज बेच्ने व्यवस्थाको शुरुवात भएको पनि बताए ।