विराटनगर/ महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न राज्यले गरेको लकडाउनको समयमा मोरङका कृषकले पालेका २ लाख १७ हजार लेयर्स कुखुरा र दैनिक १ लाख ३८ हजार ८ सय १० गोटा अण्डा नष्ट भएको बताएका छन् ।

लकडाउनले गर्दा कुखुरालाई आहारा खुवाउन नसक्दा कुखुरा र अण्डा ठूलो सङ्ख्यामा नष्ट हुँदा कृषकलाई ठूलो नोक्सानी भएको नेपाल अण्डा उत्पादन सङ्घ मोरङका अध्यक्ष टेकबहादुर खनालले बताए । सङ्घमा आबद्ध भएका ७३ जना लेयर्स कुखुरा पालक कृषकहरू छन् । उनीहरूले पालेको कुखुरा र अण्डा नष्ट भएको हो ।

लकडाउनको समयमा कुखुरालाई चारो खुवाउन नसक्दा र उत्पादन भएका अण्डा समयमा बजार पुर्याउन नसक्दा ठूलो सङ्ख्यामा अण्डा नष्ट भएको नेपाल अण्डा उत्पादन सङ्घका केन्द्रीय सदस्य विनोद अधिकारीले जानकारी दिए । ‘उत्पादन भएको अण्डा १० दिनदेखि १५ दिनभित्रमा बजार पु¥याउन सकिएन भने पूरै नष्ट हुने गर्दछ’ –उनले भने । मोरङ विराटचौकका कृषकहरूले लकडाउनमा चारो खुवाउन नसक्दा स्काभेटरले खाडल खनेर जिउँदो कुखुरा गाडेका थिए ।

अण्डा उत्पादन सङ्घ मोरङले लकाउनमा मरेका कुखुरा र अण्डाको क्षतिपूर्ति दिनुपर्नेलगायत विभिन्न माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । उनीहरूले एक दर्जन बढी माग राखी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगर र सचिव निरू दाहाल पाण्डेलाई ज्ञापन–पत्र बुझाएका हुन् । सङ्घका मोरङ अध्यक्ष टेकबहादुर खनाल र केन्द्रीय सदस्य विनोद अधिकारीसहित कृषकहरूको टोलीले राज्यमन्त्रीमार्फत् सङ्घीय सरकारमा पनि ज्ञापन–पत्र बुझाए ।

उनीहरूले गत चैतदेखि चालू आर्थिक वर्षको असारसम्मको बिजुलीको बिलमा छुट, कृषि कर्जा लिएका किसानलाई सामान्य अवस्थामा दिएको ब्याज अनुदानलाई कायम गरी अन्य थप ब्याज छुट दिनुपर्ने माग राखेका छन् । यस्तै बिमा कम्पनीले कुखुराको बिमा नगर्ने भएकोले बिमा गर्ने वातावरण राज्यले मिलाइदिनुपर्ने, कुुखुराको चल्ला, दाना र भ्याक्सिन तथा औषधिको गुणस्तरमा किसानलाई परेको मारको सुनुवाइ हुनुपर्ने, कृषि बजारीकरण अहिलेको किसानको मूल समस्या भएकोले बिचौलियालाई हटाउन कृषिउपज अण्डाको न्यूनतम् समर्थन मूल्य कायम गरी किसानको लागत नडुब्ने अवस्था सिर्जना गरिनुपर्ने उनीहरूले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ ।