धरान । सरकारले जिल्लाभरि मात्रै सवारी सञ्चालन गर्न पाउने गरी गरेको निर्णयलाई यातायात व्यवसायीहरूले संशोधन नगरी सञ्चालन गर्न नसकिने अडान राखेका छन् ।

आज धरानमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छलफलमा यातायात व्यवसायीले यथास्थितिमा सवारी सञ्चालन गर्न नसक्ने स्पष्ट अडान लिएका हुन् । उनीहरूको अडानमा तीन वटा यातायात सम्बद्ध मजदुर संगठनले पनि साथ दिएका छन् ।

यातायात व्यवसायीहरूले सार्वजनिक सवारी सञ्चालन गर्ने कार्यविधि बनाएर मात्रै सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ । ‘अहिलेको अवस्थामा सरकारले गरेको निर्णय नै अव्यवहारिक छ भन्ने यातायात व्यवसायीको भनाइ हो’–यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले भने ।

उनले सरकारले यातायात व्यवसायीको न्यूनतम मागहरू पूरा नगरी अहिलेकै अवस्थामा सवारी सञ्चालन नगर्नका लागि सरकारलाई सुझाव दिइएको बताए । उनले त्यसका लागि प्रदेश सरकारमा डेलिगेसनमा जाने तयारी समेत भएको बताए ।

छलफलमा सुनसरी, मोरङ, झापा, उदयपुरलगायतका यातायात व्यवसायीहरू धरानमा भेला भएका थिए । उनीहरूलाई व्यवसायी नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले पनि साथ दिएका छन् ।

यसक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई सम्मानित गरिएको छ । यातायात व्यवसायी समेत रहेका नगर प्रमुख राईलाई सम्मान पत्रसहितले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सम्मानित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद् श्रीप्रसाद मैनालीले नगर प्रमुखलाई दोसल्लासहित सम्मान पत्रले सम्मानित गरेका थिए ।

tilak rai