उर्लाबारी । उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा शनिबार देखि रक्त संचार सेवा शुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप–शाखाले अस्पताल आउने बिरामीहरुलाई रगतको अभाव भएकोले रक्त संचारको सेवा शुरु गरेको रेडक्रसले जनाएको छ ।

उर्लाबारी उप–शाखाका सभापति मदनबाबु प्रसाईको सभापतित्वमा भएको उक्त सेवा केन्द्रको उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्दै अस्पतालमा उपचार गर्न आउने बिरामीहरुको लागि सहजता भएको बताएका छन ।

उद्घाटन कार्यक्रममा मंगलबारे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं उर्लाबारी नगरपालिकाका प्रवक्ता भानुभक्त शर्मा पराजुली, मेडीकल सुपरीटेन्डेन्ट डा.योगेशकुमार मण्डल, उप–शाखाका उपसभापति मेघराज श्रीपाली सहितका वक्ताले रक्त संचार सेवा केन्द्रको स्थापनाले मंगलबारे अस्पतालमा उपचार गर्न आउने उर्लाबारी नगरपालिका सहित पथरीशनिश्चरे, लेटाङ, केरावारी, कानेपोखरी, रतुवामाई, मिक्लाजुङ सहितका स्थानिय तहका नागरिकको लागि संजीवनी हुने बताएका छन ।

नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाको समित्वमा रहेको उपशाखाले उर्लाबारीको आईतबारे स्थित आफनै कार्यालय भवनमा २०७५ साल श्रावण देखि रक्त संचार सेवा संचालीत हुदै“ आएको छ भने नगरको मंगलबारेमा थप सेवा केन्द्र स्थापना गरी सेवा शुभारम्भ गरेको सचिव लेखनाथ प्रधानले बताएका छन ।