बेलबारी । मोरङको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहद्वारा वन सम्बर्धन, संरक्षण तथा समुदायसँगको सम्बन्ध लगायतबारे अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

मानव,माटो देखि सम्पुर्ण जिवका लागि समेत वनको महत्व र आवश्यकता रहने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुह कार्यान्वयन इकाईका संयोजक एवम् सव डिभीजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दिपेश कुमार मिश्रले समुहको कार्यप्रगति गतिविधि लगायतबारे जानकारी सहितको प्रस्तुती दिदै समुहले वन संरक्षण सहित,वन पैदावरको वितरण,रोजगारी सृजना जस्ता कार्यहरु भैरहेको जानकारी दिएका थिए ।

सव डिभीजन वन कार्यालय बेलबारीमा आयोजित कार्यक्रममा राजनितिक दल,जनप्रतिनिधि, उपभोक्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको उक्त कार्यक्रमकी प्रमुख अतिथी बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले वन समुहका विविधता,वनको सेवा सुविधामा विपन्न समुदायको पहुँच र अधिकार जस्ता विषयमा अझैपनि सचेतना आवश्यक रहेकाले सुचनामुलक र भ्रम चिर्ने खालका कार्यक्रमहरु निरन्तर सञ्चालन हुनुपर्ने बताएकि थिईन ।साझेदारी वन र नागरिक विच सेवाको विभाजन तथा संरक्षणको भुमिका जस्ता कुरामा सहजीकरण गर्न नगरपालिकाले आवश्यक भुमिका निर्वाह गर्ने पनि पराजुलीको धारणा रहेको थियो ।

त्यस्तै नेकपा बेलबारीका अध्यक्ष परशुराम सुवेदीले वनको व्यवस्थापनका प्रकृया अघि बढाइरहँदा वन तथा वातावरणमा नकारात्मक असर पर्छ की भन्ने तर्फपनि ध्यान दिनुपर्ने बताएका थिए ।

वन पैदावरको वितरण प्रणालीलाई पनि अझ व्यवस्थित गर्नुपर्ने सुवेदीको भनाई थियो ।
नेपाली कांग्रेस बेलबारीका सभापति शम्भु भट्टराईले निर्दिष्ट कार्ययोजना अनुसार उपभोक्तालाई निरन्तर राहत प्रदान गर्नेगरी र वन संरक्षण पनि गर्ने गरी वन समुहहरुले काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बेलबारी वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार किराँतीले बैज्ञानिक वन व्यवस्थापन लगायत विषयमा रहेका भ्रम चिर्ने र स्पष्ट पार्न कार्यमा वन क्षेत्र सम्बद्ध निकायहरुको ध्यान जानुपर्ने बताएका थिए ।

बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समुहका संयोजक दिनेश गिरीले साझेदारी वनका गतिविधिबारे सरोकारवाला सबैमा जानकारी गराउने र आवश्यक सुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताउदै आउने समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने पनि गिरीले बताएका थिए ।