भद्रपुर/ कोरोना महामारीका कारण नेपाल–भारतका नाकामा आउजाउ बन्द भए पनि तस्करी भने यथावत् रहेको छ ।

झापाका केचना, पथरिया, पाठामारी, राजगढ, गौरीगञ्ज, भद्रपुर, देवीबस्ती, ज्यामिरगढीलगायतका नाकाबाट तस्करी यथावत् रहेको हो । बन्दाबन्दी नभएको अवस्थामा लत्ताकपडाको बढी तस्करी हुँदै आए पनि हाल सुर्तीजन्य पदार्थ उल्लेखनीय मात्रामा तस्करी भइरहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।

ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ सै घण्टा ड्युटी भए पनि दुवै तर्फका प्रहरीको आँखा छलेर कारोबारीले सामान नेपाल भित्र्याउँदै आइरहेका छन् । दुवै तर्फका प्रहरीले ती नाकाबाट दैनिक रजनीगन्धा, बाबा खैनी, सुर्तीलगायतका सामान बरामद गरिरहे पनि कारोबारीले भने सामान नेपाल ल्याउन बन्द गरेका छैनन् । नेपाल–भारतका सीमाक्षत्रका बजारमा सुर्तीजन्य पदार्थको माग उच्च भएपछि सबै तस्करले अहिले सुर्तीजन्य पदार्थको तस्करी गर्दै आइरहेका छन् ।

यसैक्रममा बिहीबार राति ५१ हजार ७ सय ४० रुपैयाँ मूल्य बराबरको सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङको नेतृत्वमा गएको टोलीले सामान बरामद गरेको जनाएको छ । चिया बगानभित्र बेवारिसे अवस्थामा रजनीगन्धा, बाबा खैनी, सुपारी र केही हार्डवेयरका सामान फेला पारेको केचनाका इन्स्पेक्टर तामाङले जनाए । भारतको दले गाउँ, गिलीबारी नाका हुँदै नेपाल भिœयाइएका सामान बरामद गरिएको उनको भनाइ छ ।

चिया बगानमा लुकाइरहेको अवस्थामा सामान बरामद गरिएको भए पनि मानिस भने फेला नपरेको उनले जनाए । बरामद सामग्रीलाई शुक्रबार भद्रपुर भन्सार बुझाइएको उनले जानकारी दिए । बिहीबार मात्र सशस्त्र प्रहरीले डेढ लाख रुपैयाँ मूल्य बराबरको रजनीगन्धा भद्रपुरबाट बरामद गरिसकेको छ । कोरोना सङ्क्रमित नेपाल भित्रिने सम्भावनालाई मध्यनजर गर्दै तस्करी नियन्त्रणमा पनि उत्तिकै ध्यान दिएको प्रहरीले जनाएको छ ।