धरान/ लकडाउनका कारण लाङ्घाली सामुदायिक वनको भवनमा राखिएका धरानका सडक मानवहरूलाई नेपाल हङ्कङ समन्वय समाजले राहत सामग्री वितरण गरेको छ ।

वनको भवनमा राखिएका १६ महिलासहित ८१ जनालाई बुधबार चप्पल, लुङ्गी, ट्राउजर र भेष्ट वितरण गरिएको हो । यस्तै ओलिभ क्याफेले चाउचाउ र पोर्चुगलका व्यवसायी केन्द्र लिम्बूले एक छाक खाना र नास्ताको व्यवस्था गरेका छन् । समन्वय समाज हालै गठित भएको हो । समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ सय थान कोरोना परीक्षण सामग्री पनि यसअघि प्रदान गरेको सल्लाहकार नानीचन्द्र सिङ्गकले जानकारी दिए ।

कार्यक्रममा समाजको तर्फबाट गीतकार मीना सिङ्गक, नानीचन्द्र सिङ्गक, ०६३ सालका मिस्टर धरान दिनेश सिङ्गक, नायिका तथा मोडल रेखा फागो, समाजसेवी कमला सुब्बा, निकेन राई, केन्द्र लिम्बू, र अर्विन पोमो रहेका थिए । कोभिड– १९ का कारण देशभर लकडाउन गरेपछि सडक मानवहरूलाई एकीकृत गरी धरान उपमहानगरपालिकाले लाङ्घाली सामुदायिक वनमा बस्ने व्यवस्था मिलाएको हो ।

नगरपालिकासहित विभिन्न दाताहरूको सहयोगमा खाना खुवाउँदै आइरहेको थियो तर यसै सातादेखि उनीहरूलाई इटहरीको माया घर नेपालले डेढ महिनाको लागि खानाको व्यवस्था गर्ने अध्यक्ष राधिका दासीले बताइन् ।