• अनिल श्रेष्ठ

विराटनगर/ म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गर्न राखिएको विराटनगरका दुई वटा पसललाई कारबाही गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा शुक्रबार विराटनगरको बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको खाद्यवस्तु राख्ने दुई वटा पसल कारबाहीमा परेका हुन् ।

विराटनगर–९ महावीर रोडस्थित कमलकुमार अग्रवालले सञ्चालन गरेको क्वालिटी सर्कल र गुद्रीको शिव फुड सेण्टरले म्याद गुज्रिएका खाद्यवस्तु र बिल विजक नराखी सामग्री बिक्री गरेको पाइएपछि कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिए । क्वालिटी सर्कललाई २० हजार र शिव फुड सेण्टरलाई १० हजार रुपैयाँ जरिबाना गरिएको उनले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ मा कुनै पनि निकायले अनुचित व्यवसायजन्य क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । अनुगमनको क्रममा अनुचित कार्य गरेको फेला परेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को (ङ) बमोजिम म्याद गुज्रिएको र खरिद बिल विजकबिना खाद्य सामग्री बिक्री गरेको पाइएपछि कारबाहीको दायरामा ल्याएको कार्यालय प्रमुख बरालले बताए ।

यस्तै शुक्रबार विराटनगरको गुद्रीस्थित बालाजी घ्यू उद्योगमा पनि अनुगमन गरेको छ । उक्त उद्योगले उत्पादन गर्ने घ्यूको गुणस्तर मापदन गर्न विराटनगरस्थित खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्यावमा परीक्षणका लागि पठाएको उनले जानकारी दिए ।

लकडाउनमा २० फर्मलाई कारबाही
राज्यले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न लकडाउन गरेको समयमा मोरङमा ६२ फर्मको अनुगमन गरिएकामध्ये २० वटा फर्मलाई कारबाही गरिएको छ ।

चैत ११ देखि जेठ २५ गतेसम्म २० वटा फर्मलाई कारबाही गरी १२ लाख ५५ हजार रुपैयाँ जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख तथा निरीक्षण अधिकृत हिमालय बरालले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्ने खुद्रा पसलदेखि डिपार्टमेण्ट स्टोरसम्म रहेका छन् । म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री वितरण गर्ने, गलत मूल्य उल्लेख गरी अनुचित लाभ लिने, कुनै पनि सरकारी कार्यालयमा फर्म दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने फर्मलाई कारबाहीको दायरामा ल्याएको कार्यालय प्रमुख बरालको भनाइ छ ।

वाणिज्य कार्यालयले गत २५ जेठमा विराटनगर–१५ रानीस्थित हुलास प्युरिफाइड वाटर इण्डष्ट्रिज प्रालिले उत्पादन गर्दै आएको प्रशोधित ‘हुलास’ पानीमा अनुचित लाभ लिएर बिक्री गरेको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको थियो । प्रशोधित हुलास पानी बिक्री गर्दा अनुचित लाभ लिएको पाइएपछि वाणिज्यले हुसाल पानीलाई २ लाख रूपैयाँ जरिबाना गरेको थियो ।

हुलास प्युरिफाइड वाटर इण्डष्ट्रिज प्रालिले १ लिटरको मिनिरल वाटर होलसेल पसललाई १२.९१ रुपैयाँमा म्याट बिल काटेर बिक्री गर्दै आएको थियो । सोही पानी उपभोक्तालाई बिक्री गर्दा बोतलमा ३० रुपैयाँ मूल्य उल्लेख गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले हुलास प्युरिफाइड वाटर इण्डष्ट्रिज प्रालिले गलत मूल्य उल्लेख गरी अनुचित कार्य गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याएको थियो ।