पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान शुक्रबार वितरण गरिएको छ ।

बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा पुराना पोखरी मर्मतमा ११ व्यवसायीका लािग ३ लाख ३२ हजार रकम अनुदान प्रदान गरिएको छ ।

त्यसैगरी, अण्डामा आत्मनिर्भर तथा पारिवारिकस्तरमा पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रमतर्फ १० वटा व्यवसायिक समूहका लागि ४ लाख रकम प्रदान भएको छ । बंगुर र बाख्रातर्फ समूहमार्फत पशु उपहार कार्यक्रम सञ्चालन हुने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाको सभाध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगर दुध, कुखुरा, बंगुर, खसीबाख्रामा आत्मनिर्भर बन्दै गएको र अन्य क्षेत्रमा पनि आत्मनिर्भर बन्नका लागि नगरले कृषकलाई सदा साथ दिने बताए । कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि कृषी क्षेत्रको प्रोत्साहनमा लाग्ने जनाए ।

यसैबीच, पशुपंक्षी शाखाले नगरका कृषकहरुका लागि माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम सम्पन्न गरेको छ । वडा नम्वर ६ स्थित पशुसेवा केन्द्रमा सम्पन्न तालिममा प्रत्येक वडाबाट ३,३ जना कृषक सहभागि भएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

तालिममा सहभागिलाई माछा पालनका लागि आवश्यक चुना, पोटास, भिअक्स सहितका सामग्री वितरण समेत गरिएको थियो । शाखा प्रमुख दहालका साथै शाखाका पर्वत शाह र गणेश शिवाकोटीले तालिमको सहजिकरण गरेका थिए ।