• धनबहादुर पुरी

इटहरी/ उपमहानगरपालिका बन्नु अगाडिसम्म इटहरीले पूर्व–पश्चिम र उत्तर–दक्षिणको सडक जोड्ने ट्राञ्जिट शहरको परिचय बनाएको थियो । उपमहानगर बनेपछि यसको भौगोलिक सिमाना फैलिएसँगै स्थानीय क्षेत्रको आवश्यकता र नगरवासीको आकाङ्क्षा पनि बढेको छ । कर्मचारीतन्त्र अन्त्य भएको र जनप्रतिनिधि आएको ३ वर्ष पूरा हुँदा पनि इटहरीको मुहार भने फेरिएन ।

विकास र सभ्यताको परिचायक नमूना शहर बनाउने पूर्वको मुटु मानिने इटहरीको सिर्जनशील अपरेसन गर्न स्थानीय तहको चुनाव अवसर बनेर आयो तर जनप्रतिनिधिहरूको कामप्रति त्यति ध्यान दिएनन् । इटहरी घर भई धनकुटा राजारानीमा वाईन फ्याक्ट्री सञ्चालन गर्दै आएका विष्णु बास्तोला भन्छन्, ‘इटहरी चोक लथालिङ्ग भयो । इटहरीका खाल्डाखुल्डी सडक मर्मत गरेर जनप्रतिनिधि आएको अनुभूति जनतालाई गराउनु पर्छ ।’

यातायातको सहजताले गर्दा सुविधायुक्त मानिएको प्रदेश १ कै केन्द्रमा पर्ने इटहरी खाल्डाखुल्डी र धुलोको कारण अस्त–व्यस्त भएको भन्दै जनप्रतिनिधिहरूलाई गाली गर्नेहरूको सङ्ख्यासमेत बढ्दै छ । विराटनगर लाइनमा अनगिन्ती खाल्डाखुल्डी छन् भने इटहरी चोकमा हिलोको कारण हिँडिसक्नु छैन । इटहरी चोकमा लामो समयदेखि व्यवसाय गर्दै आएका गौरव भट्टराईले जनप्रतिनिधिहरूले इटहरी चोकको स्वरूपसमेत फेर्न नसकेको आरोप लगाए ।

जनप्रतिनिधिहरू आएपछि विकास निर्माणको काम ग्रामीण क्षेत्रसँगै शहरी क्षेत्रमा पनि धमाधम भइरहेको बताउँछन् इटहरी नागरिक समाजका महासचिव राजु केसी । जनप्रतिनिधिहरू आउँदा आशा जागे पनि जनताको अपेक्षाअनुसारको काम हुन नसकेको उनी बताउँछन् । बजेट तथा नीति कार्यक्रमहरूलाई जनमैत्री बनाउँदै अगाडि बढ्नु पर्ने उनको सुझाव छ । अझै धेरै जनताको अपेक्षाअनुसारको काम गर्दै जानुपर्ने जनप्रतिनिधिहरूलाई उनको सुझाव छ ।

वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे
इटहरी चोक अस्त–व्यस्त मात्र होइन, वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा इटहरीलाई अन्य ठाउँका सर्वसाधारणले हेर्ने दृष्टिकोण फरक छ । इटहरी भनेको झट्ट हेर्दा इटहरी चोकलाई बुझिन्छ । तर इटहरी चोकको अवस्था हेर्ने हो भने घृणा लाग्दो देखिन्छ ।

हिलो, धुलो र खाल्डाखुल्डीका कारण इटहरी चोक अस्त–व्यस्त भइरहेको छ । अरू बेला धुलाम्मे हुने शहर अहिले हिलाम्मे भएका छन् । तरहरा, खनार, दुहबी र इटहरीका केही भित्री सडकसम्म अहिले हिँडिसक्नु छैन । इटहरी चोक आसपासका झण्डै ४ किलोमिटर क्षेत्र लथालिङ्ग अवस्थामा छ ।

इटहरी मुहार फेर्ने तरखरमा
आन्तरिक तथा वाह्य पर्यटकहरूले इटहरी चोक हेरेर इटहरीलाई हेर्ने धारणा बनाउँछन् । अहिले इटहरी चोक जनप्रतिनिधिहरू निर्वाचित हुनुभन्दा अगाडिको जस्तै छ । इटहरी वडानम्बर ६ मा पर्ने इटहरी चोकलाई एक वर्षभित्र सिँगार्ने बताउँछन् इटहरी वडानम्बर ६ का वडाध्यक्ष दीपक गौतम ।

गौतम भन्छन्, ‘पहिलो संरचनागत हिसाबमा आएसँगै स्थानीय सरकारको पद्धति विकासमा लागेका छौं । तर, धेरै कुरामा जनप्रतिनिधिहरू चुकेकै हुन् । निर्माण सामग्री र सामाजिक रूपान्तरणको विषयमा सफलता शुरु भएको छ ।’

‘इटहरी चोकलाई सिँगार्न फूलका गमला र टायल बिछ्याउने काम शुरु गरेका छौं’ गौतम भन्छन, ‘चोकमा स्मारक बनाउने र रङरोगनको लागि समेत लागेका छौं, सङ्घीय सरकारको ६ लेनको सडक सम्पन्न भएपछि हामी इटहरी चोकलाई बनाउन लाग्छौं, सडकको स्वरूप फेर्छौं ।’ कानूनी जटिलताले विकास निर्माणमा सोचेजस्तो काम गर्न नसकेको उनी स्वीकार्छन् । ‘हामी इटहरी चोकलाई केही समयमा नै हेर्नलायक बनाउँछौं । निर्माण भएको कारण चोक अस्त–व्यस्तजस्तो देखिएको हो’–उनले भने ।

विराटनगर–इटहरी क्षेत्रको सडकमा कोही पनि आरामले हिँड्न पाएका छैनन् । भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ । जसमध्ये अहिले साढे ३४ किलोमिटर क्षेत्रमा काम भइरहेको छ । जसको कारण पनि अहिले इटहरी चोकको स्वरूप बिग्रिएको वडाध्यक्ष गौतमले बताए ।

चुनावका कुरा भएनन् पूरा
इटहरीलाई तीन वर्षभित्रमा पूर्ण साक्षर बनाउने प्रतिबद्धता अधुरै रहनुका साथै एक घर एक धारा नीतिसमेत अहिले अलपत्र बनेको छ । आज पनि इटहरीका ग्रामीण इलाकाका नागरिकहरू खानेपानीको पहुँचबाट बञ्चित भई ट्युवेल तथा बोरिङको पानीमा निर्भर हुनुपरेको छ ।

विगतमा हाम्रै जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने प्रतिबद्धता जनाएका थिए । सामाजिक सुरक्षा भत्ता घर–घरमा नपुग्नुको कारण हालसम्म कुनै जनप्रतिनिधिले बताउन सकेका छैनन् । विगतमा चुनावी घोषणा–पत्रमार्फत् इटहरीलाई हरियाली विकासको विशेष कार्यक्रममार्फत् स्वच्छ, सुन्दर र रमणीय बगैंचाको शहर बनाउने प्रतिबद्धता विपरीत मुख्य बजार क्षेत्रमा हरियाली बनाउन वृक्षरोपण तथा बिरुवा संरक्षण हुनुको सट्टा भएका बिरुवा समेत सडक विस्तारको नाममा काटिएका छन् ।