धरान/ धरान–१४ विजयपुरस्थित बेलडाँडामा बुधबार भएको आगलागीमा दुई घर जल्दा २२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
धरानस्थित इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा स्थानीय विष्णु राई र ईश्वर राईको काठको घर जलेको हो ।
डिएसपी बस्नेतले दुई घर जल्दा करिब २२ लाख रुपैया बराबरको धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । उनले आगलागीबाट विष्णु राईको काठको दुई तले घरसहित लत्ताकपडा, सुन–चाँदी गरगहनासहित १३ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको बताए ।
ईश्वर राईको ९ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको डिएसपी बस्नेतले बताए । उनले भने, ‘बिहान करिब साढे नौ बजेतिर खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगो लाग्दा निभाउने प्रयास गर्दागर्दै काठको घर जलेका हुन् ।’
धरान–४ दानाबारीमा रहेको अर्को घरमा बस्दै आएका विष्णु राईको घरमा नरमाया लिम्बूको परिवार बहालमा बस्दै आएका थिए । लिम्बूको नगद डेढलाख रुपैयाँ, आधातोला सुनको गहना, दराज, फ्रिज, टेलिभिजन सबै जलेको थियो ।
ईश्वरको घरमा उनकै भाइ कमल राई बस्दै आएका थिए । ईश्वर राईले अर्को नयाँ घर बनाउनका लागि राखेको ८ सय क्यु.फिट सालको काठसमेत जलेर नष्ट भएको बताए । आगलागी भएपछि धरान उपमहानगरको दमकल, नगरप्रहरी, जनपद प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रण लिएका थिए ।