धरान /  निर्माण कम्पनी मृत संजीवनी एचके विल्डर्स जेभिका ठेकेदार हसबुल मियाले दिएको चेक बाउन्स भएको छ । धरान उपमहानगरको वडा ५ र ६ को वीचमा पर्ने अंधेरी खोलाको पुल निर्माणमा सम्लग्न कामदारलाई राष्ट्रिय बाणिज्य बैंकको चेकमार्फत पारिश्रमिकको रकम दिएपनि चेक साट्न जादा बाउन्स भएको हो ।

भौतिक योजना मन्त्रालयको ७ करोढ ५० लाख रुपैयामा लागतमा चार बर्षअघिदेखि पुल निर्माण सुरु भएपनि हाल चार पिल्लरमात्र बनाएका ठेकेदार मियाले दिएको चेक बाउन्स भएपछि वित्तीय ठगीको मुद्धा आकर्षित हुने भएको छ ।
निर्माणाधीन अंधेरी खोलाको पुल नजिकै घर भएका स्थानीय प्रेमकुमार राइले भने, ‘हसबुल मियाले पुल बनाउन थालेपछि स्थानीय उपभोक्ता पनि भएको नाताले ट्याक्टर मार्फत गिटि बालुवा र ढुंगा आपुर्तीमा सहयोग गरेका थियौं । तर उनले ढुंगा गिटि बालुवा आपुर्ती गरेवापतको रक ५५ हजार रुपैया दिन आनाकानी गरे । लगातार ताकेता गरेपछि दिएको चेक नै बाउन्स भयो ।’ मियाले असार ४ गते एउटा ५ हजार रुपैयाको र अर्को ५० हजार रुपैयाको राष्ट्रिय बाणिज्य बैंकको चेक राईलाई दिएको थियो ।

राईसंगै धरान–५ देउराली बस्ने डिल्लु कट्टवाललाई दिएको चेक पनि बाउन्स भएको छ । कट्टुवाललाई मियाले दिएको ६० हजार रुपैयाको बाउन्स भएको चेक व्लाष्टलाई देखाउदै भने, ‘आफुले काम गरेवापतको रकम लिनलाई ताकेता गर्दा गर्दा दिएको चेक पनि बाउन्स भयो । पुल निर्माण गर्ने ठेकेदार मिया फ्रड भएको बल्ल थाहा भयो ।’

मियाको राष्ट्रिय बाणिज्य बैंकको खातामा रकम नै हुदै नभएको चेक दिएर वित्तिय ठगी अपराध गरेकाले कानूनी कारवाहीकालागि प्रक्रिया सुरु गरेको कट्टवालले बताए । उनले भने, ‘स्थानीय बासिन्दा भएको नाताले पुल निर्माणकार्यमा सम्लग्न हुदा केही आम्दानी हुन्छ कि भनेर काम गरेका थियौं तर आफुलाई ठेकेदार बताउने मियाले नराम्ररी झुक्यायो । हामीलाई जस्तै अरु धेरै कामदारको रकम मियाले दिएका छैनन् ।’

धरानस्थित राष्ट्रिय बाणिज्य बैंकबाट मियाको खातामा रकम नै नभएको स्टेटमेन्ट लिएर राई र कट्टवाल कानूनी प्रक्रियामा जाने तयारी गरिरहेका बेला व्लाष्टको सम्पर्कमा आएका मियाले भने आफुले कसैलाई पनि बाउन्स हुने चेक नदिएको दावी गरे । उनले अहिले सम्म कसैको चेक बाउन्स नभएको दावी गर्दै भने, ‘सुनसरी–मोरङ पुल आयोजनाले बजेट सकेपछि पुल निर्माण वीचैमा रोकिएको हो । तर मैले दिएको चेक भने बाउन्स भएको छैन ।’