धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि महालक्ष्मी नगरले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको हो ।

अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बजेट ल्याएको महालक्ष्मी नगरले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पुर्याएको हो । कोरोनाको महामारी दिन प्रतिदिन बढीरहेको परिवेशमा महालक्ष्मी नगरपालिकाले पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष ५ करोड रुपयाँ बढी पुयाएको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण गरिएको शसर्त, विशेष र समपुरक अनुदान तथा सामाजिक सुरक्षा भत्ता शीर्षकगत रुपमा तोकिएर आएको हुँनाले त्यो बाहेक संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान, राजश्व बाँडफाँडको रकम र नगरको आन्तरिक स्रोतबाट जम्मा हुने २१ करोड ७६ लाख ६० हजार बजेट अनुमान गरिएको छ ।

जसबाट चालु खर्चतर्फ ९ करोड ७९ लाख ४७ हजार र विकास खर्चतर्फ ११ करोड ९७ लाख १३ हजार बजेट बिनियोजन गरिएको छ । चालु खर्चतर्फ ४५ प्रतिशत र बिकास खर्चमा ५५ प्रतिशत बजेट तोकिएको हो ।
विकास खर्चलाई पाँच क्षेत्रमा बिभाजन गरी बजेट छुट्याईएको छ । जसमा पूर्वाधार बिकासले प्राथमिकता पाएको छ । पूर्वाधार बिकासलाई ५ करोड

५० लाख, सामाजिक बिकासलाई २ करोड ५० लाख, आर्थिक बिकासलाई १ करोड ५० लाख तथा वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि समान एक/एक करोड बजेट बिनियोजन गरिएको छ ।

बजेटको आयतर्फ केन्द्र सरकारबाट सशर्त अनुदानमा २६ करोड ६५ लाख, वित्तिय समानीकरणमा ९ करोड ७७ लाख, राजश्व बाँडफाँडबाट ७ करोड ४९ लाख, विशेष अनुदान २ करोड २० लाख र समपुरक अनुदान ४० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट समपुरक अनुदानतर्फ १ करोड, सशर्त अनुदान २२ लाख, सामाजिक सुरक्षा भत्ता बापत ६ करोड ५० लाख, वित्तिय समानीकरणमा ६९ लाख, सवारी कर बाँडफाँडबाट ६० लाख प्राप्त हुने अनुमान छ । त्यस्तैगरी नगरको आन्तरिक स्रोततर्फ चालु आर्थिक बर्षको मौज्दात र आगामी आर्थिक बर्षको आन्तरिक आम्दानी ३ करोड २० लाख आय अनुमान गरी बजेट निर्माण गरिएको छ ।

महालक्ष्मी नगरको पाँचौ नगरसभामा उपमेयर मन्जु कार्की अधिकारीले प्रस्तुत गरेको बजेटलाई नगरसभाले पारित गरेको छ । बजेट सार्वजनिक गर्नुअघि नगरसभाका अध्यक्ष एवं मेयर पर्शुराम नेपालले आगामी आर्थिक बर्षको बार्षीक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली र जिल्ला समन्वय समिति प्रमुख टंक चुहानले नगरलाई समृद्ध बनाउँने गरी बजेट आएको प्रतिक्रिया दिँदै बजेटले जनअपेक्षा पुरा गर्ने विश्वास व्यक्त गरेका छन् ।