धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान रन समूह र नेपाल रन–बेलायतले एक सय ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान गरेको छ ।

धरान रन समूहले बेलायतबाट सुरु गरेको लकडाउन फिटनेस च्यालेञ्ज शारीरिक तन्दुरुस्ती चेतना अभियानले सङ्कलन गरेको एक लाख रुपैयाँले पीपीई खरिद गरेर बीपी प्रतिष्ठानलाई सोमबार प्रदान गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई धरान रन समूहका अध्यक्ष रमु राईलगायतले हस्तान्तरण गरे । प्रतिष्ठानलाई पीपीई र डिस्पोजेबल मास्क हस्तान्तरण गरिएको धरान रन समूहका अध्यक्ष रमु राईले बताए । महामारीको बेला स्वास्थ्यका लागि दौड र व्यायमलाई प्राथमिकता दिने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो ।

च्यालेञ्ज गरेर रकम सङ्कलन गर्न पाएकोमा खुसी लागेको धरान रन समूहका पाण्डव महतोले जानकारी दिए । महतो क्यान्सरलाई जिते पछि निरन्तर दौडमा लागेका छन् । अर्का अभियन्ता जगन कार्कीले शारीरिक दन्तुरुस्ती महत्त्वपूर्ण रहेको बताए । कार्यक्रमका संयोजक ध्रुव नेपालले स्तरीय पीपीई खरिद गर्नका लागि डा. अरबिन जोशीको सहयोग लिइएको बताए ।