नेपालमा मनसुनी वर्षा शुरु भएको छ । केही दिनदेखिको अविरल वर्षाले जमिन गलेको अवस्था छ ।  यस्तो बेला  बाढीपहिरोको जोखिम बढ्छ नै । कतिपय स्थानमा बाढीपहिरोले भौतिक तथा मानवीय क्षति पु¥याइसकेको अवस्था छ । मनसुनी वर्षासँगै निम्तिने प्राकृतिक प्रकोपको अवस्था, जोखिम तथा त्यसको न्यूनीकरण र पूर्व चेतावनीमाथि बहस अपरिहार्य हो । तर नेपालमा जब यस्ता प्राकृतिक प्रकोपबाट क्षति हुन्छ, त्यसपछि मात्र चिन्ता गर्ने प्रवृत्ति हामीकहाँ छ ।
यो वर्ष विगतका वर्षको तुलनामा मनसुन अलि चाँडै शुरु भएको छ । मनसुन शुरु भइसकेपछि यसवर्ष धेरै वर्षा हुने अनुमान गरेको अवस्थामा यो वर्ष अझ बाढीपहिरो जान सक्ने सम्भावना रहेको विज्ञहरूले बताउँदै आएका छन् । यो वर्ष अझ धेरै धनजनको क्षति हुने अनुमान गरिँदै आएको अवस्थामा राज्य र नागरिक दुवै सचेत हुनु पहिलो आवश्यकता हो ।

तर विडम्बना बाढीपहिरोको क्षति र त्यसको न्यूनीकरणका लागि राज्यले कुनै पहलकदमी गर्न सकेको छैन । गत चैत्र महिनादेखि सरकार कोरोना नियन्त्रण र रोकथामका लागि आर्थिक तथा जनशक्ति लगानी गरिरहेको अवस्थामा अन्य प्रकोपको तयारी हुन सकेको छैन । यस्तो परिस्थितिमा नागरिकसमेत आफै जागरुक र सचेत हुनु जरुरी हुन्छ ।
यस्ता प्राकृतिक प्रकोपको सूचना दिने पूर्वसूचना प्रणाली छ । हामी त्यहाँका सूचना निरन्तर प्राप्त गरिरहेका हुन्छौं । बाढीको कुरा गर्दा जलवायु तथा मौसम विज्ञान विभागले देशैभरि बाढीको भविष्यवाणीलाई थप सक्रिय बनाउँदै आएको छ । तीन दिनको बाढीको भविष्यवाणी गर्नसक्ने विभागले बताउँदै आएको छ । कर्णाली, नारायणी, बागमती, सप्तकोशी, कन्काईलगायतका देशैभरिका नदी, जलाधारमा बाढीको प्रकोपबाट बच्नका लागि सूचना दिन सक्छ । तर त्यो सूचना हालसम्म प्रभावकारी रूपमा प्रभावित क्षेत्रसम्म प्रवाह गर्न सकेको छैन ।

राज्य संयन्त्रले यस्ता विपत्तिबारे पूर्वसचेतना तथा रोकथामका लागि कुनै भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा नागरिक आफै सचेत हुनु जरुरी छ । कुन क्षेत्र कति सुरक्षित छ, त्यसको सूक्ष्म अध्ययन गरेर बाढीपहिरोको जोखिममुक्त क्षेत्रमा बसोबास गर्नु र सुकुम्बासीलगायतका विपन्न वर्गलाई सुरक्षित स्थानमा राख्नु अपरिहार्य छ । विदेशमा बाढीपहिरो कस्तो स्थानमा आउँछ भन्ने अध्ययन गरेर घर बनाउन दिने या नदिने योजना बनाउँछ । नेपालमा पनि यस्तो व्यवस्थापन जरुरी छ । वर्षायाममा हुने यस्ता प्राकृतिक विपत्तिप्रति नागरिक नै सचेत भई सुरक्षित रूपमा बसोबास व्यवस्थापन गर्नुपर्छ । राज्यले बाढीपहिरोको न्यूनीकरण र व्यवस्थित बसोबासका लागि नीति बनाएर काम गर्नु पर्दछ । अनि मात्र नागरिक हरेक वर्षको प्राकृतिक प्रकोपबाट बच्न सक्नेछन् ।