विराटनगर /  विराटनगर– ५ कोचाखालस्थित छुरा प्रहार गरि छिमेकीलाई घाइते बनाएको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर ५ का सुरज रायले सोही ठाउँका छिमेकी ३३ वर्षिय सन्तोष कामतलाई शुक्रबार राती छुरा प्रहार गरि घाइते बनाएका थिए ।

डोजरले जाम भएको नाला खुलाउने क्रममा बिवाद हुँदा कामत माथि खुकुरी प्रहार भएको मोरङ प्रहरीले जनाएको छ । छुरा प्रहार गरेको आरोपमा मोरङ प्रहरीले हिजो सुरज रायलाई पक्राउ गरेको हो ।

छुरा प्रहारबाट कामतको पेट र देव्रे हातमा गहिरो चोट लागेको छ । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । अस्पतालले दिएको जानकारी अनुसार कामतको पेटमा गहिरो चोट छ ।

कामतमाथि छिमेकीहरु सुरजका तीन जना दाजुभाइ मिलेर छुरा प्रहार गरेको भनिए पनि सुरजले मात्र प्रहार गरेको प्रहरीले जनाएको छ । पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रक्रिया अगाडी बढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । शनिबार अदालत विदा भएकोले पक्राउ परेका रायलाई मोरङ प्रहरीले आज आइतबार ज्यान मार्ने उद्योगमा अदालतमा म्याद थप गर्ने तयारी गरेको छ ।

स्थानीय बासिन्दाका अनुसार लगातारको वर्षाले विराटनगरको कोचाखाल क्षेत्र डुबानमा पर्ने अवस्था आएको थियो । वस्ती डुबानमा पर्न लागेको खवरसँगै महानगरपालिका कार्यालयले जाम भएको नाला खुलाउन डोजर पठाएको थियो । डोजरले जाम भएको नाला खुलाउने क्रममा राय परिवारको घर अगाडि खन्न थालेपछि विवाद सुरु भएको पाइएको प्रहरीले जनाएको छ । डोजर बोलाएर आफ्नो घर अगाडि खन्न लगाएको भन्दै रायले कामतमाथि छुरा प्रहार गरेको बुझिाएको छ ।