• उद्धव पुरी

झापा/ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले चिया मजदुर, किसान, उद्योगीको हितमा चिया नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालयले आइतबार बिर्तामोडमा आयोजना गरेको चिया क्षेत्र बचाउ कार्यदल अभियानको क्रममा डा. भट्टराईले नयाँ नीति निर्माणका लागि आश्वासन दिएका हुन् ।

उनले उद्योग सञ्चालन गर्न बोर्डको अनुमति चाहिनेखालको नीति निर्माण गर्न पहल थाल्ने बताए । उनले नेपालमा चिया क्षेत्रलाई हेर्ने आँखा फरक रहेको बताए । विश्व कोरोना महामारीका बीच आक्रान्त बनेको चिया क्षेत्रलाई नयाँ नीति आवश्यक रहेको भन्दै चिया मजदुर, किसान, उद्योगीलगायत सरोकारवालाहरूले चिया क्षेत्रमा नयाँ नीतिको आवश्यक रहेको बताए । उनीहरूले सरकार समक्ष नीति निर्माणका लागि मागसमेत गरेका छन् ।

हालै बोर्डको सदस्य बनेका हर्क तामाङले चिया किसान सहकारी, मजदुरलगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । बोर्डका क्षेत्रीय निर्देशक राम एकवाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. १ का इञ्चार्ज भूपाल सापकोटा, अखिल नेपाल चिया मजदुर सङ्घ अध्यक्ष सीता सापकोटा, नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, मजदुर नेता सहीकुमार राईलगायतको उपस्थिति रहेको थियो ।