धरान/ धरान उपमहानगरपालिकाले असार १० गते नगरसभा गर्ने भनेर वडाका जनप्रतिनिधिहरूलाई इमेलमार्फत् पत्राचार गरे पनि नगरसभाअघि नै वडाहरूमा पठाउनु पर्ने बजेटको सिलिङ भने नपाएको वडाध्यक्षहरूले बताएका छन् ।
कुनै छलफल, परामर्शबिना नै नगरसभाको इमेलमार्फत् पत्र आउँदा आश्चर्यमा परेको १५ नं. का वडाध्यक्ष नरेश इवारम बताउँछन् । बजेट तर्जुमा तथा योजना निर्माण प्रक्रिया पुसदेखि हुनुपर्ने नियममा छ । तर धरान उपमहानगरले नगरसभा आउन ४ दिन बाँकी रहँदा बजेटबारे कुनै छलफल परामर्श गरेको छैन ।
उपमेयर मञ्जु भण्डारी सुवेदी संयोजक रहेको राजश्व परामर्श समितिले आन्तरिक आयको प्रक्षेपण गरे पनि मेयर तिलक राई संयोजक रहेको समितिले बजेट सिलिङ गरेर वडाहरूमा पठाउनु पर्ने बजेटको सिलिङ आइनपुगेको वडाध्यक्षहरूले बताएका छन् ।
नियममा उपमेयर संयोजक रहेको राजश्व परामर्श समितिले नगरको आयको प्रक्षेपण गर्नुपर्ने हुन्छ । त्यसपछि मेयर संयोजक रहेको सिलिङ समितिले सङ्घ, प्रदेशलगयातबाट आउने आम्दानीलाई मिलाएर वडाहरूलाई दिने बजेटको सिलिङ तोक्नुपर्ने हुन्छ । मेयरले तोकेको सिलिङको आधारमा वडाहरूले आफ्नो योजना छनौट गरेर बजेट तोकी पठाउनु पर्ने हुन्छ । वडामा सिलिङ नआइकनै एकैचोटी नगरसभा गर्ने पत्र आएको वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराईले बताए ।
‘नगरसभा आउन अब ४ दिन बाँकी छ, बजेटको सिलिङ आएको छैन, के आधारमा योजना छनौट गर्ने अन्यौल छ’–१५ नं. वडाध्यक्ष इवारमले भने । वडाहरूमा समयमा बजेटको सिलिङ नपठाएर बजेटलाई केन्द्रित गर्न खोजिएको वडाध्यक्षहरूको बुझाइ छ । इवारमका अनुसार एक पटक सिलिङ समितिको बैठक बसेको थियो । समितिमा करिब १६ करोडको सिलिङ बजेट ल्याउन छलफल हुँदा मेयर राईले १० करोडभन्दा बढी लान नसकिने अडान राखेका थिए ।
समितिमा मेयरको प्रस्ताव नमानेपछि मेयर राईले आर्थिक महाशाखामा छलफल गरेर राय पेश गर्न भनेअनुसार रायसमेत पेश गरिएको तर मेयरले थप छलफल नगरेकाले बजेट अन्यौल भएको वडाध्यक्ष इवारमले बताए । चालू आर्थिक वर्षमा पनि २२ करोड ४० लाख सिलिङ तोकिएको थियो । यस पटक कोरोना महामारीले बजेट घट्ने भएकाले १६ करोडसम्म सिलिङ ल्याउनु पर्ने वडा सिलिङ समितिका सदस्यहरूको अडान छ ।
धरान उपमहानगर नेतृत्वले सङ्घीयताको खिलाफमा बजेटलाई वडाकेन्द्रित नगरी नगर केन्द्रित गर्न लागिएको पाइएको नेकपा धरान उपमहानगर अध्यक्ष नारायण सुवेदी बताउँछन् । नगरसभा आउन लाग्दा पनि नीति तथा कार्यक्रम र बजेट सिलिङ नहुनु विडम्बना भएको अध्यक्ष सुवेदीको भनाइ छ ।
धरानमा १५ वटा वडामा नेकपाको नेतृत्व छ । ५ वटा वडामा नेपाली काङ्ग्रेसको नेतृत्व छ । तर मेयर भने काङ्ग्रेसका भएकोले बजेट नगरमुखी बनाउने प्रपञ्च मेयरले गरेको अधिकांश वडाध्यक्षहरूको बुझाइ छ । वडाध्यक्षहरू जतिसक्दो बढी बजेट वडाकेन्द्रित गर्ने रणनीतिमा छन् भने मेयर राई जसरी हुन्छ बढी बजेट नगरमा राखेर आफ्नो नेतृत्वमा परिचालन गर्ने दाउमा भएको पाइएको छ । जनप्रतिनिधिहरूको राजनीतिक दाउपेचका कारण धरानको नगरसभा नै अनिश्चित बन्दै गएको एक कर्मचारीले बताए ।
यता मेयर तिलक राईले असार १० गते नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्ने सबै तयारी भइरहेको बताउँछन् । उनले नीति तथा कार्यक्रम नगरसभामा पास भएपछि बजेट सिलिङबारे घनिभूत छलफल गरेर वडा–वडामा बजेट लाने नयाँ प्रणाली शुरुवात गर्न लागेको बताउँछन् । अघिल्लो परम्पराअनुसार वडाध्यक्षले गुनासो गर्नु स्वभाविक हो भन्दै तर यो वर्ष आफूले फरक तरिकाले बजेट बनाउने तयारी गरेको उनको भनाइ छ । असार १० गते नीति तथा कार्यक्रम पास गरेर सङ्घ र प्रदेशको बजेट जस्तैगरी बजेट ल्याउने उनको भनाइ छ ।