विराटनगर । मोरङको सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट ४० जना डिस्चार्ज भएका छन् । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर जाँचमा कोरोना नेगेटिभ आएपछि बिहीबार डिस्र्चाज भएका हुन् । कोरोना जित्नेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्षका पुरुष छन् । उनीहरू जेठ २२ गतेदेखि २६ गतेसम्म भर्ना भएका थिए ।

सुन्दरहरैंचाबाट कोरोना जित्नेहरूलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद् लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैंचाका प्रमुख शिव ढकाल र उपप्रमुख धना तामाङ लगायतले बिदाई गरे ।