विराटनगर /  प्रदेश १ को चार जिल्लाको सिमा नाकाहरूबाट नेपाल भित्रने भन्दा भारत जानेको संख्या धेरै रहेको पाइएको छ । लकडाउनको कारणले अलपत्र परेका नेपाल तथा भारतका नागरिकहरू आफ्नो देश फर्कन थालेपछि दुई सातामा झापा, मोरङ, सुनसरी र इलामको नाकाहरूबाट २८ हजार ९ सय ७५ जनाले वारपार भएका छन् ।

दुई सातामा नेपालबाट १८ हजार ६ सय ९९ जना भारतीय नागरिक गएका छन् भने भारतबाट १० हजार २ सय ७६ जना नेपाली आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार जेठ १४ देखि ३२ गतेसम्म सबैभन्दा बढी झापाको काकरभिट्टा नाकाबाट बढी आवतजावत भएको बताए । झापाको काकरभिट्टा नाकाबाट १५ हजार ७ सय १२ जना नेपालबाट भारतीय गएका छन् । झापा पछि मोरङको विराटनगरको जोगवनी नाकाबाट आवतजावत बढी भएको छ । जोगवनी नाकाबाट २ हजार ९ सय ८५ जना, इलामको पशुपति नगरबाट २ जना भारत गएका छन् ।

यस्तै झापाको काकरभिट्टा नाकाबाट ६ हजार २ सय ६५ जना नेपाल आएका छन् । यस्तै जोगवनी नाकाबाट २ हजार ६ सय ५८, सुनसरीको भान्टावरी नाकाबाट १ हजार ३१ र इलामको पशुपति नगरबाट ३ हजार २ सय जना नेपाल प्रवेश गरेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश १ सरकार र स्थानिय प्रशासन र सुरक्षा निकायको समन्वयमा सीमासम्म आएका नेपालीलाई उद्धार गरी नेपाल ल्याएर उनीहरुको घर भएको स्थानीय तहमा पठाउने गरिएको छ । यस्तै नेपालमा अलपत्र परेका र देश फर्कन चाहने भारतीयलाई पनि भरतका सुरक्षा निकाय तथा प्रशासनसँगको समन्वयमा पठाउने गरिएको हो । भारतका विभिन्न ठाउँबाट जोगबनी सीमासम्म आएका नेपालीहरूलाई नेपाल प्रहरीले समन्वय गरी नेपाल प्रवेश गराएको छ । नेपालतर्फ ल्याइने मानिसहरूलाई होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिकातर्फ पठाइने गरिएको छ ।