भण्टाबारी/ कोशी टप्पु वन्यजन्तु आरक्षको विकास र विस्तारमा आरक्ष कार्यालयका वार्डेन बाधक रहेको गुनासो आएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि तथा आरक्ष कार्यालयका विभिन्न समितिका पदाधिकारीहरूले कोशी टप्पुमा रहेका दुर्लभ प्रजातिका जनावरहरूको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन वार्डेन रामदेव चौधरी बाधक बनेको आरोप लगाएका हुन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा डेढ वर्षअघि वार्डेन चौधरी आएपछि वन फँडानी हुने क्रम बढेको तथा विभिन्न शीर्षकमा आएको विकास बजेटमा अनियमितता भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको भनाइ छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा वार्डेन चौधरीसहितका कर्मचारीको मिलेमतोमा वन फँडानीदेखि सोलार तारबार घेराबारा गर्ने कार्यमा व्यापक अनियमितता भएकोले तत्काल छानबिन गर्न उनले माग गरे । संरक्षण गर्न खटिएका वार्डेनकै प्रश्रयमा तस्करहरूले घाँसे मैदान बनाउने नाममा वन फँडानी गरी बहुमूल्य प्रजातिका सयौं रुख काटेको अन्सारीको दाबी छ ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाका ७५ किलोमिटरमा फैलिएको कोशी गाउँपालिका–३ मा अवस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा वन कटानी र फँडानी हुने गरे पनि रोकथाम गर्न सहकार्य नगरेको कोशी टप्पु वन्यजन्तु आरक्ष समुदायमा आधारित चोरीशिकार नियन्त्रणका संयोजक मकसुदन राउतले आरोप लगाए । आफूले पटक–पटक वार्डेनको ध्यानाकर्षण गराए पनि घाँसे मैदान बनाउन लागेको भन्दै वार्डेन चौधरीले स्काभेटर लगाएर रुख कटाएको बताए । ‘सयौंको सङ्ख्यामा दुर्लभ प्रजातिका रुख काटियो’ उनले भने, ‘तर वार्डेन सा’बले ती रुख के गर्नुभएको ? त्यो थाहा छैन ।’ कोशी टप्पु वन्यजन्तु आरक्षको ९ सय ४५ स्परको उत्तरतर्फ लगाइएको सिसौ, सिमल, खयरलगायतका रुख फँडानी भएको राउतको भनाइ छ ।

पर्यटक विश्रामस्थल निर्माण कार्यमा अवरोध
कोशी गाउँपालिकाले बनाएको डिपिआरअनुसार १४ करोड लागतमा पर्यटक विश्रामस्थलको निर्माण कार्य कोशी टप्पुमा भइरहेकोमा त्यसमा पनि वार्डेन चौधरीले अवरोध गरेको अध्यक्ष अन्सारी बताउँछन् । पर्यटकीय स्थल निर्माण उपभोक्ता समितिमार्फत् कोशी टप्पुमा पर्यटक विश्रामस्थल निर्माण कार्यमा तत्काल प्रदेश नम्बर १ सरकारले ५० लाख सहयोग गरेको र आगामी दिनमा समेत ३ करोड सहयोग गर्ने उनले बताए ।

यसैगरी स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा कोशी टप्पुलाई आकर्षक तथा व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन लाग्दा त्यसमा सहयोग गर्नुपर्नेमा काम गर्ने कामदारहरूलाई वार्डेन चौधरीले धम्काउने काम गरेको अन्सारीको आरोप छ । विकास विरोधी हिसाबले वार्डेन चौधरीले कसको आदेशमा काम गरेको भन्दै निर्माण कार्यमा संलग्न कामदारहरूलाई थुन्ने धम्की दिनु दुःखद् भएको उनले बताए । कामदारहरूलाई थुन्ने धम्की दिनुको साथै प्रदेश र स्थानीय सरकार जान्दिनँ भन्नु वार्डेन जस्तो व्यक्तिलाई नसुहाउने अन्सारी बताउँछन् । उनले भने, ‘संरक्षण, सदुपयोग र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहको भएकोले प्रदेश सरकारसँग समन्वय गरेर काम थालेका हौं । आफू कोशी टप्पु चिनाउन लागिपरे पनि वार्डेनबाट सहयोग पाइएको छैन ।’

सयौंलाई रोजगार
कोशी टप्पु वन्यजन्तु क्षेत्रलाई आकर्षित र व्यवस्थित बनाउने काम आरक्ष कार्यालयको भएको र त्यसका लागि बर्सेनि रकम आउने भए पनि काम भने भएको पाइँदैन । ‘चरा र अर्नाको लागि प्रख्यात कोशी टप्पुमा चरा आउन छाडे’ अन्सारी भन्छन्, ‘चरा बस्ने ठाउँ छैन, जसले गर्दा पछिल्लो समय चरा अन्तै पलायन हुने क्रम बढेको छ ।’ बर्सेनि घाँस र जलकुम्भी सफा गर्दै ताल व्यवस्थित गराउन बजेट आए पनि पटक–पटक ध्यानाकर्षण गराउँदासमेत काम नभएपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीय १ सय ५० देखि २ सय जनालाई काममा लगाएर ताल व्यवस्थित गर्ने कार्य भइरहेको अध्यक्ष अन्सारीको भनाइ छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा वर्षौंदेखि जलकुम्भी सरसफाइ नहुँदा उक्त क्षेत्र दुर्गन्धित बन्दै गएको थियो । सोही क्षेत्रमा प्रदेश सरकारको समन्वयमा कोशी गाउँपालिकाले जलकुम्भी सरसफाइ तथा भौतिक निर्माण कार्य गर्दा वार्डेन चौधरीले अवरोध गरेपछि स्थानीय जनप्रतिनिधि तथा विभिन्न समितिका पदाधिकारीहरू आक्रोसित बनेका हुन् ।

कोशी गाउँपालिकाले गत माघ महिनामा १४ दिनसम्म कोशी टप्पुमा आयोजना गरेको कोशी पर्यटन महोत्सव २०७६ मा समेत आरक्ष कार्यालयका प्रमुख वार्डेन चौधरीबाट सहयोग नपाएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । उक्त महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी गरी २ लाख बढी पर्यटक आए पनि त्यसबाट वार्डेनकै कारण अपेक्षित राजस्व उठाउन नसकिएको उनीहरू बताउँछन् । ‘एक जनाबाट १ सयका दरले उठाएको भए पनि २० लाख बढी राजस्व उठ्यो’ अन्सारीले भने, ‘तर, वार्डेनले टिकट काट्न कर्मचारी खटाएनन्, पर्यटकलाई भित्र प्रवेश गर्न दिएनन्, जसले गर्दा अपेक्षित राजस्व उठाउन सकिएन ।’

यता कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले सबै आरोप अस्वीकार गर्दै कोशी टप्पुमा भएको कामका बारेमा आफूलाई आधिकारिक रूपमा जानकारी न आएको बताए । आफूले नियमसम्मत नै काम गर्दै आएको दाबी गर्दै उनले कोही कसैसँग आफ्नो मतभिन्नता न भएको बताए । ‘कोशी टप्पु वन्यजन्तु आरक्ष मातहतमा पर्ने बफरजोनमा हामी काम गर्दैनौं’ चौधरीले भने, ‘उपभोक्ता समितिमार्फत् हुने भएकोले काम बाँडफाँड गरिदिने र अनुगमन गर्ने काम मात्रै भएको हो ।’