उर्लाबारी/उर्लाबारी नगरपालिकाले बिहान ६ बजेदेखी दिउसाे १२ बजेसम्मको बजार खुल्ने जनाएकाे छ ।
नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधि असार १ गतेदेखि थप नगरे पनि कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन उक्त निर्णय गर्नुपरेको नगर प्रमुख खड्ग फागोले बताए । नगर प्रमुख फागोले सोमबार जारी गरेको अपिलमा कोरोना संक्रमणको दर बढिरहेको र छिमेकी नगरपालिकामा समेत थपिने क्रम जारी रहेकाले उर्लाबारी कोरोनाको उच्च जोखिममा रहेकाले सबै सचेत हुन भनिएको छ ।
अपिलमा चैत्र ११ गतेदेखि लकडाउनको पूर्ण पालन गराउने नगरका जनप्रतिनिधी, राजनितीक दल, कर्मचारी, स्वस्थ्यकर्मी, तथा पालन गर्ने नागरिक तथा व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले पुनः अर्को सूचना नआएसम्म पसल बिहान ६ देखी दिउँसो १२ बजेसम्म मात्र खोल्न आग्रह गरे ।
नगर प्रमुख फागोले परिस्थिति अनुकूल हुन साथ सूचना प्रकाशन गरी बजार पूर्ववत अवस्थामा खुल्ने वातावरण निर्माण गर्ने बताए । उनले लकडाउनलाई पालना गर्न समेत नगरबासीमा आग्रह गरे । उता बजार आशिंक खुल्ला भए पनि शिक्षण संस्था र सार्वजनिक यातायातबाहेकका सबै सेवा प्रदायक कार्यालयहरूले सेवा दिइरहेकाे नगरपालिकाले जनाएको छ ।