धरान / सुनसरी उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोरोना बीमा गर्ने भएको छ । कोरोनाको बिरामीहरु बढिरहेको अवस्थामा व्यवसायीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै संघले आफ्ना सदस्यहरुको निशुल्क विमा गर्ने निर्णय गरेको हो ।

संघको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार संघका सदस्य भएका व्यवसायीहरुले २०७७ आषाढ २० गतेसम्म सदस्य नविकरण गरेमा ५० हजार बराबरको कोरोना बीमा निःशुल्क गरिदिने संघका अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिए । सो व्यवस्थापनका लागि संघका कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बीमा उपसमिति समेत गठन गरेको छ । व्यवसायीहरुको पीसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएमा बीमा कम्पनी मार्फत बीमा गरिएका व्यवसायीले ५० हजार पाउने छन् ।

घरबहाल समस्या समाधान समिति गठन
कोरोना (कोभिड–१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउन भई सम्पूर्ण व्यवसायहरु बन्द रहेको अवधिमा उद्योग÷व्यवसाय संचालन गरेको स्थानको घर बहालका सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघले सहजिकरण गर्ने समेत निर्णय गरेको छ ।

सोही अनुरुप २०७७ साल जेष्ठ ३० गते बसेको संघको कार्यसमितिको बैठकबाट संघका द्वितीय उपाध्यक्ष अनिलकुमार अग्रवालको संयोजकत्वमा घर बहाल समस्या समाधान समिति गठन गरेको संघका कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए ।