धरान । सुनसरीको सदरमुकाम इनरुवा–१ मुख्य बजारमा बिहान ५ बजेतिर धूँवा देखियो । धूँवा देखिएपछि आगो लागेको अनुमान गरियो । मर्निङ वाकमा रहेका स्थानीय पत्रकार अजित झाले घटना प्रत्यक्ष रूपमा देखे ।
उनका अनुसार घडीमा ५ः०१ मिनेट गएको हुनुपर्छ । धूँवा देख्ने बित्तिकै उनले इनरुवा नगरपालिकाको दकमललाई फोन गरे । ‘सुरुमा त फोहोर जलाएको आगो रहेछ भनेर त्यति वास्ता पनि गरिन’ उनले भने, ‘नजिक पुरेर हेर्दा साँच्चै आगलागी भएको रहेछ, त्यसपछि लगत्तै इनरुवाको दकमललाई फोन गरेँ, बिग्रिएको भनेर खबर आयो ।’
उनले हनुमान बस्त्रालयमा आगो लागेको भनेर तत्कालै इनरुवाको दमकललाई खबर गरे । तर, त्यताबाट जवाफ आयो, दमकल बिग्रिएको छ । लगत्तै विद्युत् कार्यालयलाई फोन गरेर विजुली काट्न अनुरोध गरे । सोही बमोजिम विजुली काटियो । तर, झन्झन् आगोको मुस्लो बढ्दै गयो ।
आगलागी भएको क्षेत्रबाट तीन सय मिटर पर रहेको इनरुवा नगरपालिकाको दमकल काम नलाग्ने गरी बिग्रिएपछि छिमेकी नगरपालिकाको साहारा लिनुपरेको हो । जसका कारण आगो नियन्त्रणमा आउन अझै सकेको छैन । पत्रकार झाका अनुसार हनुमान अटलले सञ्चालनमा ल्याएको उक्त बस्त्रालय इनरुवाको दोस्रो ठूलो लत्ताकपडाको पसल हो । करिब ७–८ करोडको लत्ताकपडा मात्रै रहेको उनले बताए ।
छेउको दकमल काम नलाग्ने बनेपछि इटहरी, दुहबी, विराटनगर, धरान, सुन्दरहरैंचा नगरपालिकाका दकमलको साहारामा आगो नियन्त्रणमा लिने प्रयास जारी छ । ब्लाष्टकर्मी अमर काफ्लेका अनुसार आगोको मुस्लो नियन्त्रणमा आइसके पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आउन अझै केही डेढ घण्टाको हाराहारीमा लाग्ने बताए ।
आगलागीको मुख्य कारण पत्ता नलागे पनि अहिले विद्युत् सर्ट भएर आगलागी भएको हो कि भन्ने अनुमान जिल्ला प्रहरी कार्यालय सुनसरीले गरेको उनले बताए । ‘यसै कारण भन्न सक्ने अवस्था चाहिँ छैन तर विद्युत् सर्ट भएर लागेको हो कि भनेर एसपी सा’पले भनिरहनु भएको थियो’–उनले फोन सम्पर्कमा भने ।
इनरुवा नगरपालिकाको दमकल करिब चैत ११ गते लकडाउन हुनुभन्दा करिब एक साता अगाडि बिग्रिएको नगरपालिकाका मेयर राजन मेहताले जानकारी दिए । उनका अनुसार दक्षिणी क्षेत्र देवानगञ्जमा भएको आगलागी नियन्त्रण गर्न जाँदा बिग्रिएको त्यसपछि लकडाउनका कारणले बनाउन नसकेको प्रतिक्रिया दिए । ‘‘लकडाउन हुनुभन्दा एक हप्ता अगाडि आगो नियन्त्रण गर्दा बिग्रिएको थियो, बनाउने भन्दाभन्दै लकडाउन लागिहाल्यो’–उनले फोन सम्पर्कमा भने ।
उनले नयाँ दमकलका लागि संघीय र प्रदेश सरकारलाई पटकपटक आग्रह गरिएको र चाँडै नै दकमल आउँछ भन्ने प्रतिक्षा गराएको बताए । ‘दमकलको लागि संघीय र प्रदेश सरकारमा पहल गरियो, आउँछ भन्दै भनिरह्यो । पुरानो दमकल बनायो, बिग्रिहाल्छ’ उनले भने,–‘स्थानीय तहले किन्न पनि धेरै प्रक्रिया पु¥याउनुपर्ने ।’ उनले पनि दमकल बिग्रिएका कारणले इनरुवाले सर्भिस दिन नसकेको स्वीकारे । ‘क्षति त भयो’ उनले भने, ‘आगो नियन्त्रण लिन पहल गरिरहेका छौं ।’