धरान । धरान–९ वडाका व्यवसायीहरूले आलोपालो प्रणालीमा नभई २ बजेसम्म निरन्तर सबै बजार खुल्ला गर्न पाउनु पर्ने माग गरेका छन् ।
धरान–९ नम्बर वडालाई ज्ञापन पत्र बुझाउँदै सबै पसलहरू बिहानदेखि २ बजेसम्म खोल्न पाउनुपर्ने भन्दै वडाध्यक्ष रत्न कट्वाललाई ज्ञापन पत्र बुझाएका हुन् । वडामा रहेका पसल सञ्चालकहरू करिब १ सयभन्दा बढीको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउँदै बिहानदेखि २ बजेसम्म निरन्तर सबै पसल खुल्ला गर्न पाउनुपर्ने माग गरेका हुन् । पसल सञ्चालकमध्येका ज्ञानबहादुर वनले तरकारी, दुग्धजन्य वस्तुहरू बिहान र अन्य प्रकृतिका पसललाई १० बजेपछि मात्रै खोल्ने व्यवस्था गरिएका कारण समस्या भएको बताए ।
तस्बिरः उपेन्द्र चाम्लिङ
‘ग्राहकहरूलाई पनि समस्या, एउटा सामान किन्न बिहान र दिउँसो आउनुपर्ने बाध्यता भयो, हामीलाई पनि पसल खोल्न त्यस्तै समस्या हुन्छ’ उनले भने । उनले प्रहरी प्रशासनले पनि पसल बन्द गराउँदा रीतपूर्वक गराउनका लागि आग्रह गरे । ‘साइरन बजाउँदै आउने अनि बन्द गराउँदा कतिपय पसलमा क्षति पुगिरहेको छ । त्योबेला दुर्घटना भयो भने त्यसको जिम्मा कसले लिन्छ ?’–उनले भने । उनले सुनसरी उद्योग वाणिज्य संघ, धरान उपमहानगरपालिकाका प्रमुखहरूले पनि सबै प्रक्रिया बुझेर २ बजेसम्म निरन्तर खोल्न पाउनुपर्ने माग गरे ।
ज्ञापन पत्र बुझ्दै धरान ९ का वडाध्यक्ष रत्न कट्वालले व्यवसायीको मागलाई आजै ड्राफ्ट गरेर सम्बन्धित क्षेत्रमा पठाइदिने बताए । उनले भोलिसम्ममा धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, सुनसरी उद्योग वाणिज्य संघ, र इलाका प्रहरी कार्यालय सबैमा यसको ड्राफ्ट कपी बनाएर पठाइदिने बताए । उनले धरान उपमहानगरले फरकफरक मितिमा गरेको निर्णयले आफूहरूलाई पनि समस्या रहेको बताए । ‘केही दिनअघि १० बजेसम्म खोल्न पाउनुहुन्छ भनेर हामीले व्यवसायीलाई त्यहीअनुसार सूचित ग¥यौं, पछि फेरि हामीलाई नराखी वहाँहरू बसेर निर्णय गर्नुभएछ, हामीले व्यापारी साथीहरूलाई कसरी बुझाउने ?’–उनले भने ।