धरान । धरानकी कोरोना संक्रमित महिलासँग करिब १५ जना सम्पर्कमा आएको प्रारम्भिक हिस्ट्रीबाट खुल्न आएको जनप्रतिनिधिले जनाएका छन् ।

धरान–१३ का जनप्रतिनिधि नेत्र काफ्लेका अनुसार करिब १५ जना कोरोना संक्रमित महिलाको सम्पर्कमा आएको बुझिन आएको छ । उनीहरूलाई परीक्षण गरेपछि थप कुरा थाहा हुने बताए । महिलालाई कहाँबाट सर्यो भन्ने विभिन्न अनुमानहरू गर्न थालिएको छ ।

पहिलो अनुमानमा उनी पतिलाई लिएर उपचारका लागि तीन महिना अघि भारतको दिल्लीस्थित राजीव गान्धि क्यान्सर अस्पताल पुगेकी थिइन् । त्यहाँबाट कोरोना सरेको अनुमान गरिएको छ भने दोस्रो अनुमानचाहिँ सब्जी खरिद गर्न बाहिर निस्किदा लागेको हुन सक्ने अनुमान गरिएको छ । अमरहाट चोकमा एक सब्जी पसलमा उनी नियमित सब्जी खरिद गर्ने गरेको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

हालसम्म पनि भएर कोरोना संक्रमितको घर क्षेत्रमा सेनिटाइजर

कोरोना संक्रमित देखिएको क्षेत्र धरान–१३ को शिवधारा क्षेत्रमा अहिलेसम्म धरान उपमहानगरपालिकाले सेनिटाइजर गरेको छैन । र, कोरोना संक्रमितलाई पनि हालसम्म उपचारका लागि लगिएको छैन । हिजो राति नै बीपीको आइसोलेसनमा लाने भनेर धरान उपमहानगरका नगर प्रमुख तिलक राईले दाबी गरे पनि संक्रमित हालसम्म घरमै रहेकी छन् ।

उनलाई आज बिहान ८ बजे लाने भन्ने कुरा आएको वडाध्यक्ष काफ्लेले जानकारी दिए । ‘अहिलेसम्म यतै हुनुहुन्छ, अहिले ८ बजे लाने भन्ने कुरा छ रे’ उनले भने, ‘म संक्रमितको घर क्षेत्रमा जाँदै छु ।’