धरान / धरान–१५ र ८ को सिमानामा पर्ने बरगाछी क्षेत्र संक्रमणको उच्च जोखिम क्षेत्र बनेको भन्दैं स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

बरगाछी चोकदेखि उत्तरमा मनकामना हार्डवेयरको गोदाम घरहरु छन् । ती गाेदामघरमा दैनिक तराईका विभिन्न जिल्ला तथा भारतबाट मालवहाक गाडीमा सामान आइरहेको छ । हार्डवेयरका सामान, सिमेन्टजस्ता सामान ल्याउन सवारी चालकहरुले कोरोनाबाट सुरक्षित हुने निम्नतम मापदण्ड पुराा गरेको पाइदैंन् ।

अन्य जिल्ला तथा भारतबाट आाएका सवारी चालकहरुसँग कोराेना परीक्षणको प्रमाण पत्र वा सुरक्षाका कुनै कुरा नहुने गरेको स्थानीय सविता कार्कीले बताइन ।

अहिले पनि बरगाछी क्षेत्रमा लाइन लगाएर मालवहाक गाडीहरु राखिएको छ । गाडीको चाप र मानिसको ओहोर दोहोरले बरगाछी क्षेत्र नै असुरक्षित भएको कार्कीले बताइन ।

सामान लिएर आउने सवारी चालकको कोरोना परीक्षण गरेर मात्र धरानको तीनकुने नाकाबाट छिर्न दिनु पर्ने स्थानीय बताउछन् । सडकमा राखिएका सवारी पनि हटाउन स्थानीयले माग गरेको छ । छेउमै रहेको अस्थायी प्रहरी चौकीका कार्यरत प्रहरीहरु पनि बरगाछीको भीडभाडमा रमिते भएर बस्ने गरेको उनीहरुको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर अमन कोइरालाले तीनकुनेमा एक जना स्वास्थ्यकर्मी राखेर परीक्षण गरिरहेको बताए । त्यस्तो भीडभाड भए इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर हटाइने कोइरालाले जानकारी दिए ।