यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले दीर्घ रोगीहरूको लागि गाउँगाउँमै औषधि वितरण गर्न थालेको छ ।

लकडाउनका कारण समस्यामा परेका दीर्घरोगीहरूलाई गाउँघरमै औषधि वितरण गरिरहेको हो । आइतबार गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङसहितको टोलीले कुम्मायक १ नम्बर वडामा औषधि वितरण गरेको छ । टोलीले सुगर, प्रेसर, दमलगायतका ११ जना दीर्घ रोगीलाई गाउँमै औषधि वितरण गरेको हो ।

गाउँपालिकामा औषधि वितरण गर्न बाँकी रहेका अन्य वडामा भने प्रत्येक वडाको स्वास्थ्य चौकीबाट वितरण गर्ने गरी व्यावस्थापन मिलाएको छ । गाउँपालिकाले २ लाख रुपैयाँबाट औषधि खरिद गरी दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । गाउँपालिकामा एक हजारभन्दा बढी दीर्घरोगीहरूलाई गाउँमै औषधि वितरण गर्ने लक्ष राखेको चेम्जोङको भनाइ छ ।