धरान । भारतको दिल्लीबाट ११ दिन हिँडेर नेपालको सीमा नाका आइपुगेका धरानका मंगलसिंह तामाङलाई शुक्रबार धरान ल्याइएको छ ।
सीमावर्ती क्वारेन्टाइन गढी गाउँपालिकामा ३ दिन राखेपछि उनलाई धरान ल्याएर पुनः क्वारेन्टाइनमा राखिएको हो । उनलाई धरान उपमहानगपालिकाले गढी गाउँपालिकादेखि ल्याएर धरानको सैनिक आवासीय महाविद्यालयमा निर्मित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको छ । उनलाई थप १४ दिन राखेर मात्रै घर पठाइने धरान उपमहानगरका प्रमुख तिलक राईले जानकारी दिए । ‘मंगलसिंहलाई हिजो मात्रै धरान ल्याएका छौं, सैनिक आवासीयको क्वारेन्टाइनमा राखिएको छ’ उनले भने, ‘केही दिन त्यहीँ राखेर घर पठाइने छ ।’
उनको घर धरान–२० नम्बर वडाको विष्णुपादुका मन्दिरभन्दा केही मास्तिर पर्छ । उनीहरू वैशाख २९ गते भारतको दिल्लीबाट हिँड्दै १५ जना युवाहरू जोगवनी आइपुगेका थिए । भारतीय सुरक्षाकर्मीले उनीहरूलाई राति नै नेपाल छिराइदिएका थिए । जसमध्ये धरानका मंगलसिंह पनि रहेका थिए । कामको खोजीमा भारत पुगेका उनी भारतले गरेको लकडाउनका कारण हिँड्दै नेपाल आउन बाध्य बनेका थिए ।
भारतले रेल सेवा सञ्चालनमा ल्याएपछि नेपालमा तनाव
भारतले प्रवासी कामदारलाई लक्षित गर्दै रेल सेवा सञ्चालनमा ल्याएपछि नेपालमा तनाव सिर्जना भएको छ । दैनिक नेपाल आउनेको संख्या बढिरहेको छ ।
जसमा धरानका मानिसहरू पनि आउन सक्ने कुरालाई मध्यनजर गर्दै क्वारेन्टाइन थप्ने विषयमा छलफल चलिरहेको नगर प्रमुख तिलक राईले बताए । ‘भारतबाट थुप्रै नेपाली स्वेदेश भित्रिँदै छन् । उनीहरूमध्ये केही धरानका पनि हुन सक्ने भएँ’ उनले भने, ‘उनीहरूलाई व्यवस्थापन गर्नका लागि क्वारेन्टाइन थप्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ ।’ उनका अनुसार प्रहरी प्रशासन तथा अन्य निकायसँग यसबारेमा छलफल चलाइरहेका छौं ।
अहिले धरानको पश्चिमी नाकामा विशेष कडाइँ गरिरहेको उनले बताए । पश्चिम नाकामध्ये वराहक्षेत्रको चतरा, नडाहा, बांगे, तथा हरियाली सामुदायिक वन परिसरमा नगर प्रहरी र स्वास्थ्यकर्मी राखेर जाँच गरिरहेको उनले बताए । उनले कतिपय एम्बुलेन्स र सब्जीको गाडीमा लुकिछिपी आइरहेको भन्ने सूचना पनि प्राप्त भएकाले प्रहरी प्रशासनलाई अलर्ट हुनका लागि आग्रह गरिरहेको र प्रशासनको सहयोगमा त्यस्ताहरूको खोजी कार्य पनि भइरहेको उनले बताए ।