धरान । भारतले चौथो चरणमा गर्न लागेको लकडाउनलाई केही लचिलो बनाउने भएको छ ।

त्यसका लागि राज्य तथा केन्द्रशासित प्रदेशलाई नै लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा अधिकार दिने भएको छ । अधिकारीका अनुसार रेड जोनमा रहेका स्कुल, कलेज, सपिङ मल, सिनेमा घरलाई पूर्णप्रतिबन्ध लगाइने भएको छ भने सैलुन, चस्माघरलगायतलाई खोल्न दिइने गरी खुकुलो नीति ल्याउन लागेको हो ।

भारत सरकारले ग्रीन जोनमा राखेका राज्य तथा जिल्लाहरूमा खुल्ला गरिदिने भएको हो । त्यसका लागि राज्य सरकार र केन्द्रशासित प्रदेशहरूलाई पनि अधिकार प्रत्यायोजन गर्न लागिएको हो । ग्रीन जोनमा परेका जिल्लाहरूमा सबै कुरा खुल्ला हुने भएको हो । ओरेन्ज जोन र रेड जोडलाई कडा प्रतिबन्ध लगाउने सरकारको नीति रहेको छ ।

कतिपय राज्य सरकारले लकडाउनलाई नियमित राख्ने तयारी गरेको छ । भारतमा सोमबारदेखि चौथो चरणको लकडाउन सुरु हुँदै छ । हालसम्म पञ्जाब, पश्चिम बंगाल, महाराष्ट्र, असम, तेलङ्गाना राज्यले लकडाउनलाई यथावत राख्ने सुझाव केन्द्र सरकारलाई दिएको छ ।

भारत सरकारले घरेलु उडानलाई विस्तारै खोल्ने नीति अख्तियार गरेको छ । भारतमा ८५ हजार ५५६ संक्रमित बनिसकेका छन् भने २ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।