धरान । तेइस दिनअघि वैदेशिक रोजगारी अन्तर्गत दुबईमा झुण्डिएको अवस्थामा भेटिएका धरान–११ भगवान् चोकका पुष्पराज भण्डारीलाई कोरोना संक्रमित भएको भन्दै जानकारी गराएपछि परिवार अनावश्यक तनावबाट गुज्रिएको छ ।

हालसम्म भण्डारी परिवारले सत्यतथ्य प्राप्त गर्न सकेको छैन । वैशाख ६ गते साँझ मृतक भण्डारीको बुबा डिल्लीरामलाई छोरा झुण्डिएको अवस्थामा भेटिएको भन्दै छोराका साथी झापा निबासी कुमार विष्टले खबर गरेका थिए । त्यसदिन डिउटीसमेत नगएका पुष्पराज साँझतिर डिउटीबाट फर्किएका कम्पनीका अन्य कामदारले झुण्डिएको अवस्थामा फेला पारेका थिए । त्यसलगत्तै घरपरिवार र दुबई प्रहरीलाई खबर गरेका थिए ।

उताबाट (विदेश) दुखद् खबर प्राप्त गरेपछि डिल्लीरामले वडा तथा धरान उपमहानगरमार्फत् बुझ्ने प्रयास गरेका थिए । त्यसबेला उनको प्रयास निस्फल भएको थियो । पछि काठमाडौंस्थित पराराष्ट्र मन्त्रालयले उनलाई पुष्पराजको विषयमा प्रमाणित गरेर पठाउनका लागि पत्राचार गरेको थियो । वैशाख २२ गते धरान उपमहानगरपालिकाबाट प्रमाणित गरेर पठाएको कागज परराष्ट्र मन्त्रालयले अस्वीकृत गरेको थियो । अस्वीकृत गरेपछि पुनः जिल्ला प्रशासन अन्तर्गतको इलाका प्रशासन कार्यालय धरानबाट प्रमाणित गरेर वैशाख २३ गते कागजात पठाइएको उनले बताए । तर, हालसम्म पनि झुण्डिएर मरेको हो वा अन्य कारणले भन्ने आधिकारिक प्रमाणित हुने कागजात प्राप्त नगरेको उनले बताए ।

झुण्डिएका कारणले पोष्टमार्टमका लागि अस्पतालमा पु¥याएपछि रिपोर्टमा कोरोना संक्रमण भएको भन्दै छोरोको साथीमार्फत आफूहरूले जानकारी पाएको उनले बताए । त्यसपछि नै परराष्ट्र मन्त्रालयले पत्राचार गरेर प्रमाणित कागजात पठाउन भनेको थियो । कोरोना भएका कारणले उतै अन्त्येष्टि गरिने भनिएकाले आफूहरू अहिले घटनाको सत्यतथ्य जान्न चाहेको उनले बताए । ‘हामी यो घटनाको सत्यतथ्य के हो त्यो जान्न चाहन्छौं, सुरुमा छोरो झुण्डिएको खबर आउँछ, फेरि संक्रमित भयो रे भन्ने’ उनले टेलिफोन सम्पर्कमा भने, ‘सत्यतथ्य चाँडै आओस् भन्ने हाम्रो माग हो । त्यहीअनुसार सिडिओ कार्यालयमार्फत् परराष्ट्रमा निवेदन गरेका छौं ।’

छोरोको मृत्यु भएको खबर प्राप्त गरे पनि धर्म संस्कारअनुसार काजकिरिया नगरिएको उनले बताए । सत्यतथ्यसहितको कागजात प्राप्त गरेपछि त्यहीअनुसार विधिमा जाने उनले बताए । दुबईमा सद्गत भए/नभएको विषयमा हालसम्म कुनै आधिकारिक पत्र परिवारले प्राप्त गर्न सकेका छैनन् । दक्षिण कोरियामा रहेका कान्छो छोरा नवराजले यस विषयमा बुझ्दा अझै चारपाँच दिन लाग्ने भन्दै जानकारी गराएको बुबा डिल्लीरामले बताए । धरान–११ का पूर्व वडाध्यक्षसमेत रहेका डिल्लीरामका तीन छोरामध्ये पुष्पराज जेठा छोरा हुन् । जसको एक छोरा, दुई छोरी र श्रीमती रहेका छन् । जेठी छोरीको बिहेसमेत भइसकेको छ ।

वैशाख ६ गते साँझ खबर आएको थियोः बुबा

शनिबारको दिन रहेछ । छोरो झुण्डिएको खबर उसकै कोठामा बस्ने झापाको कुमार विष्ट भन्ने साथीले हामीलाई खबर ग¥यो । हामी त छाँगाबाट खसेजस्ता भयौं । त्यस दिन डिउटीसमेत गएनछ । अरू सबै साथीहरूले डिउटी जाउ भन्दा म एकछिन पछि आउँछु भन्दै टारेको थियो रे साँझ ५ बजेतिर त्यस्तो गरेछ । त्यसै दिन जेठी छोरीसँग फोनमा सञ्चोविसञ्चोका विषयमा कुरा भएको रहेछ । फोनमा म्यासेजसमेत गरेको रहेछ । दक्षिण कोरियामा हुने भाइ नवराजसँग पनि उसको फोनमा गफ भएछ । आजभोलि जाँदैछु भनेर अपुष्ट वाक्य बोलेपछि भने कान्छो छोरोले ‘दाजु धैर्यधारण गर्नुस्, जेठोबाठो तपाईंले नै यस्ता कुरा गर्नुहुन्छ भनेरसम्म’ भनेको रहेछ ।