भारत  / भारतको महाराष्ट्र राज्यमा मानिसहरूमाथि एउटा मालवाहक रेल गुडेको घटनाबारे अनुसन्धान गर्न भारतीय अधिकारीहरूले निर्देशन दिएका छन्।

ज्यान गुमाउने मानिसहरू अलपत्र परेका कामदार हुन् जो रेलको ट्रयाकमा निदाएका थिए। घर जानका लागि रेल पाइने आशामा उनीहरू रेल स्टेशन जान खोज्दै थिए।

लकडाउन लगाइएपछि दशौँ हजार मानिसहरू पैदलै आफ्ना घर गएका थिए। भारतमा त्यस्ता कामदारहरू ग्रामीण क्षेत्रबाट कामको खोजीमा ठूला सहर जाने गर्छन्।

रेलवेका अधिकारीहरूका अनुसार कामदारहरू पहिला बाटो हुँदै र त्यसपछि रेलको ट्रयाक हुँदै ‍औरङ्गावादतर्फ जाँदै थिए।

३६ किलोमिटर पैदलै हिँडेपछि थाकेका उनीहरूले आराम गर्ने निधो गरेका थिए । स्थानीय विवरणहरूका अनुसार कामदारहरू लकडाउनका कारण रेल नगुड्ने ठानेर ट्रयाकमै निदाएका थिए।

सामाजिक सञ्जालमा देखिएका तस्बिरमा ट्रयाक नजिकै उनीहरूले खानका लागि बोकेका रोटीहरू छरिएको देखिएको थियो।