धनकुटा/सीमावर्ती जिल्लामा संक्रमण देखिइएकाे भन्दै प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाएको  छ ।

धनकुटाको सम्पूर्ण नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ । मुलुकमा कोरोना संक्रमणको संख्या दिन प्रतिदिन बढी रहनु, सीमावर्ती भोजपुर र उदयपुरमा कोभिड १९ संक्रमित फेला परेपछि जिल्लाका सम्पूर्ण नाका बन्द गरी नियमित अनुगमन तीव्र पारिएको प्रशासनले जनाएको छ ।

अत्यावश्यक कामको ठहर गरेबाहेक कसैलाई पनि जिल्ला भित्रिन र बाहिरिन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए । सीमावर्ती जिल्लामा संक्रमण देखिइसकेकाले अब उच्च सतर्कतामा राखेर कडाइ गरिनु बाहेक अन्य विकल्प नभएको प्रमुख जिल्ला अधिकारी केवशप्रसाद बिमलीले बताए ।

धनकुटाको पश्चिमी क्षेत्रमा भोजपुर र दक्षिणी क्षेत्रमा उदयपुर जिल्लाको सिमाना जोडिएको छ । विशेष गरेर भेडेटार मुख्य धनकुटा प्रवेशद्धार, वराहक्षेत्र नजिकैको त्रिवेणी, कोकादोभान,सुनवालुवालगायतका स्थानमा बढी सतर्कता अपनाइको र प्रहरी परिचालन गरिएको छ ।

जिल्लामा हालसम्म २८ जनालाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ । काठमाडौं, हेटौडा लगायतका ठाउँबाट जिल्ला फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो । चौबिसे गाउँपालिकामा ९२ जना फर्किएका भए पनि २७ जना शंकास्पद रहेकाले क्वारेन्टाइनमा राखिएको पालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकालाई स्थानीय स्वास्थ्यकर्मी र प्रहरीले निगरानी गर्दै आएका छन् । अन्य जिल्लाबाट आएका अन्य ६४ जना होम क्वारेन्टाइनमा छन् ।

जिल्लामा हालसम्म १ सय ५९ जनार्को यापिड डाइनोस्टिक टेस्ट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षण गरिएको सबैलाई होम क्वारेन्टाइनमा राखिएको कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । ¥यापिड डाइग्नाेष्टिक टेस्ट गरिएकामा धनकुटा नगरपालिकाका २०, पाख्रिबास नगरपालिकाका १९, महालक्ष्मी नगरपालिकाका २१ छन् । त्यस्तै छथर जोरपाटी गाउँपालिकाका १३, शहीदभूमि गाउँपालिकाका २९, साँगुरीगढी गाउँपालिकाका २८ र चौबिसे गाउँपालिकाका २९ जना छन् ।

धनकुटामा ३ सय ५७ थान पीपीई, ५६ थान थर्मल गन, १ सय ५९ बेडको क्वारेन्टाइन र १५ एम्बुलेन्स तयारी अवस्थामा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्ला सदरमुकाम नजिकको औधोगिक ग्राममा व्यवस्थापन गरिएको आइसोलसनमा भने कुनै व्यक्ति हालसम्म राखिएको छैन । यहाँका ७ वटै स्थानीय तहले पनि संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउँदै हरेक कार्यालयको मुख्य प्रवेशद्वारमा थर्मलगनमार्फत तापक्रम मापन गर्ने, स्यानिटाइजर प्रयोग गर्न दिने र सेवाग्राहीको विवरण लिने काम गरिहेको पनि स्थानीय प्रशासनले जनाएको छ ।