धरान । इराकमा नयाँ प्रधानमन्त्री चयन भएका छन् । इराकका पूर्व गुप्तचर प्रमुख मूतफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनी पूर्व पत्रकारसमेत हुन् ।
नयाँ प्रधानमन्त्री अमेरिकी पक्षधर मानिन्छन् । इराकको संसद्ले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको विदेशी मिडियाले उल्लेख गरेका छन् । विदेशी मिडियाले खादिमीको सम्बन्ध अमेरिकासँग धेरै राम्रो भएको जनाएको छ । तत्कालीन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजीनामा दिएपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी लामो समय गुप्तचर विभागमा कार्यरत रहेका थिए । करिब ६ महिनापछि इराकले नयाँ प्रधानमन्त्री पाएको हो ।
इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो । जसका कारण सरकार विरोध प्रदर्शनहरू हुँदै आएका थिए । प्रदर्शनकारीहरूले रोजगार र सुशासनको माग उठाउँदै आएका थिए । भ्रष्टाचार अन्त्य गर्नसँगै सरकारको काम कारबाहीका विषयमा पनि व्यापक बहस उठ्दै आएको थियो ।