धरान । भारतको आन्ध्र प्रदेश राज्यको एक उद्योगबाट रसायनिक ग्यास लिक हुँदा ८ वर्षीया बालिकासहित ८ जनाको ज्यान गएको छ ।

आन्ध्र प्रदेशको विशाखापटनम शहरको ग्यास उद्योगमा लिक हुँदा सो संख्यामा ज्यान गएको हो । ग्यास लिक भएका कारण धेरै मानिसहरू बेहोस बनेका छन् । एलजी पोलिमर्स कम्पनीको स्टेरेने नामक रसायनिक ग्यास लिक भएको जिल्लाका ग्यास नियन्त्रणका प्रमुख विजय चन्दले जानकारी दिए । बिहीबार बिहानको राति करिब ३ बजेतिर ग्यास लिक हुँदा केही मानिसहरू बेहोस बनेका छन् । उनीहरूको उपचार भइरहेको छ ।

विज्ञका अनुसार ग्यासका कारण स्वासप्रश्वास, फोक्सोमा सिधै असर गर्छ । जसका कारण मानिसहरू बेहोस बन्ने हुन्छ । ग्यास लिक भएको क्षेत्रबाट करिब ३ किलोमिटर आसपासको क्षेत्रमा शिल गरिएको छ । झण्डै २ सय ५० जना प्रत्यक्ष असर परेको छ । त्यस क्षेत्रमा २५ भन्दा बढी एम्बुलेन्सहरू तैनाथ राखिएको छ । बेहोस भएका व्यक्तिहरूलाई एम्बुलेन्समार्फत् अस्पताल लाने काम भइरहेको जनाइएको छ ।

प्रहरीले घटना भएको क्षेत्रलाई खाली गराइरहेको छ । प्रहरीका अनुसार ५ वटा गाउँ ग्यासका कारण प्रभावित बन्न पुगेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण ४० दिनपछि मात्रै ग्यास उद्योग खुलेको थियो । सोही कारण ग्यास लिक भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार ७० जना ग्यास लिकका कारण बिरामी भएर अस्पताल पु¥याइएको छ ।