धरान  / मूर्ती नभएको मन्दिर तपाईले कल्पना गर्नु भएको छ ? रक्सी, चुरोट, खैनी चढाइने मन्दिर पनि हुन्छ भनेर सुन्नु भएको छ ? विषेश दिनमा संँगुरको बली चढाइने नेपालको कुन मन्दिर होला ? धरान–१४ विजयपुर डाँडामा रहेको बुढासुव्वा मन्दिरमा कुनै पनि परम्परागत देवी देवता वा भगवानको मूर्ती नहुनु र मन्दिरमा रक्सी, चुरोटका साथै विषेश दिनमा सुंगुरको टाउको चढाउनु यसको विषेशता हो । अर्को विषेशता हो मन्दिर अगाडि रहेको बांस झ्याङ, जस्को टुप्पा हुदैन भन्ने मान्यता छ ।

बुढासुव्वाको यिनै फरक विषेशताका कारण सवै खाले समुदायले आफ्नो भाकल पुरा गर्न आउने गरेका छन् । कहिलै रक्सी नै नपिउने र चुरोट खैनी नखानेले पनि साथमा रक्सी र चुरोट लिएर त्यहाँ पुगी खैनी चढाउछन् । विषेश दिनमा सुंगुरको बली दिन्छन् । अरु दिनमा भालेको टाउको ।

छेउको बाँस झ्याङमा डोरी बाध्छन् । आधा दशक अघिसम्म युगल प्रेमीहरुले आफ्नो प्रेम अमर राख्न बांसमा कांटीले कोरेर प्रेमीको नामजोडेर आफ्नो नाम लेख्ने गरेका थिए । प्रेमको नाममा युगल प्रेमीहरुले बांसमा लेख्दा बांस नै संकटमा परेपछि तार घेराबारा गरियो । यति सम्मकी अर्को युगल प्रेमीले नाम लेख्नकालागि बांसको कुनै पनि भाग खाली रहेन नै प्रेमीको रापले होला बाँसै मर्न थाले ।

हिन्दु, क्रिश्चियन, बौद्य, मुस्लिम, युमा जस्ता धर्मका ग्रन्थमा कल्पना गरिएका ‘सुपर पावर’ भएका सर्वशक्तिमान इश्वर, प्रभु, भगवान, अल्लाह वा तागेरा निङ्वाफुमाङ जति स्थापित अस्तित्व नभएपनि, कुनै लामो कालखण्डको ऐतिहासिकता नबोकेपनि आफ्नो अलग पहिचान र विषेशषताका कारण छोटो समयमै बुढासुव्वा नयां देवता बनेका छन् । सवैको आकर्षणको केन्द्र बनेका छन् । मगर समुदायका पुजारीले भालेको मुटु कलेजो हेरेर जोखाना बताउने चलन छ ।

धरानको मुख्य बजार भानुचोकबाट हिडेर गए ४५ मिनेट र टेम्पो वा कुनै सवारी साधनमा गए १० मिनेटमा पुगिने बुढासुव्वा रमणीय स्थानमा छ । जस्को पूर्वोउत्ररमा सेउती खोला पर्छ । मगर पुजारी रहेको उक्त मन्दिर भित्र माटोको तीन ढिस्का छन् । कसैले ती ढिस्का लिम्बु जातिभित्रका खेवा बंशको कुनै व्यक्तिको रहेको बताउने गरेका छन् त कसैले सिकार खेल्दै जादा तीर धनु त्यही छाडेर बुढासुव्वा र सुव्वीनी अलप भएको स्थान बताउने गरेका छन् ।
उनीहरुले त्यही छाडेको तीर धनु नै पछि टूप्पाविहिन बांसको रुपमा झ्याङ्गिएको मान्यता छ । १ हजार १ सय ४५ फिट उचाईमा रहेको बुढासुव्वा मन्दिरको बारेमा इतिहासकार इमानसिंह चेम्जोङले तात्कालिन लिम्बुवाका अन्तिम राजा बुद्धिकर्ण खेवाङ लिम्बुको समाधिस्थल भएको बताएका छन् ।

भोली बुढा सुब्बालाई रक्सी चढाउने दिन
भोली बुढासुब्बालाई विशेष भोले र रक्सी चढाउने दिन परेकाले आज त्यहाँ रहेको सुकेका बाँस काटेर सरसफाई गरिएको स्थानीय प्रेम पराजुलीले जानकारी दिए । बैशाखे पूर्णिमाको अघिल्लो दिन सफाई गरेर पूर्णिमामा रक्सी चढाउने चलन रहेको छ ।

बुढा सुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार आज काम नलाग्ने बाँस काटेर सफाई गरिएको छ । उक्त बाँस बुढासुब्बाको प्रसादको रुपमा घर घर लाने चलन रहेको छ । घरमा राख्दा शुभ हुन्छ भन्ने मान्यता रहि आएको धरान–१४ का प्रेम पराजुली बताउछन् ।