धरान । भारत प्रशासित क्षेत्र जम्मू–काश्मीरको हन्दवारा क्षेत्रमा भएको आतङ्वादी हमलामा तीन जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ ।
हन्दवाराको बंगाम–काजियाबाद क्षेत्रमा भारतीय सुरक्षाकर्मी सीआरपीएफलाई लक्षित गर्दै आतङ्वादी हमलाका कारण तीन जनाको ज्यान गएको हो । गस्ती गरिरहेको क्षेत्रमा फायरिङ हुँदा तीन जना सीआरपिएफका जवान शहीद बनेका छन् । जसमा एक आतङ्वादी मारिएको खबर आउटलुकले लेखेको छ ।
सोमबार भएको आतङ्वादी हमलामा एक सीआरपीएफलाई लक्षित गर्दै फायरिङ गरिएको थियो । दुवैतर्फ मुठभेड हुँदा सीआरपिएफका जवानको ज्यान गएको थियो । आइतबार मात्रै आतङ्वादी हमलाका कारण पाँच जना जवान मारिएका थिए । शहीद हुनेमा राष्ट्रिय राईफलका २१ औं बटालियनका कमाण्डिङ अफिसर कर्णेल आशुतोस शर्मा, मेजर अनुज सूद, नायक राजेश, लेसनायक दिनेश र जम्मुकाश्मीरका सब इन्स्पेक्टर पुलिस सगीर अहमद पठान रहेका छन् ।
अधिकारीहरूका अनुसार शनिबार भारत र पाकिस्तानको सीमारेखा कुपवाडा जिल्लाको चाँजमुल्ला क्षेत्रको एक घरमा केही मान्छेहरूलाई बन्धक बनाएको खबर प्राप्त भएको थियो । सोही खबरपश्चात् कर्णेल शर्माको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर, आफ्नो टिमसँग कर्णेलको सम्पर्क एकाएक बिच्छेद भएको थियो । जस क्रममा दुवैतर्फबाट फायरिङ भएको खबर बाहिरिएको थियो । त्यसपछि थप बल त्यसतर्फ प्रस्थान गरे पनि त्यो समयसम्म ५ जना शहीद बनिसकेका थिए । त्यसको २४ घण्टा नबित्दै फेरि आतङ्वादी हमला भएको हो ।