धरान / नेपालको पहिलो सिभिल इन्जिनियर डिल्लीजंग थापाल श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा देशको पहिलो सिंचाइ परियोजना चन्द्र नहर निर्माण गरेका थिए । चन्द्रशमशेरको राज्यकालको उत्तराद्र्ध विसं १९८५ मा नहर निर्माण शुरू भई १९८९ मा तयार भएको इतिहास पाइन्छ । प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको ५ सय किलोमिटर लामो सो नहरबाट १० हजार ५ सय हेक्टर जमीनमा सिंचाइ हुने क्षमता रहेको छ । तर त्यो क्षमता अनुसारको पानी यति बेला प्रवाह हुन सकेको छैन् ।

त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला एक चिम्टी पनि सिमेन्ट प्रयोग गरिएको थिएन । पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको स्थानीय मानबहादुर विष्ट बताउछन् । यो चन्दनहर एउटा मुलुककै नमुना नहर भएको प्राविधिकहरुले बताउदैं आएका छन् । उक्त नहर निर्माणको सूक्ष्म इन्जिनियरिङबारे अध्ययन गर्न विदेशी प्राविधिकहरू समेत आउने गरेका छन् ।

तर विडम्बना के छ भने यहाँका स्थानीयले यो ऐतिहासिकता र महत्वलाई जीवित राख्न सकेका छैनन् । मुलुकको जेठो चन्द्र नहर अहिले जिर्ण छ । कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्था डिभिजन कार्यालयको स्वामित्वमा रहेका यि भवनका पुराना इँटाहरु भत्किएका छन् । १५ बर्ष अघिसम्म चन्द्र नहर हेर्न तथा बनभोज खान आउनेहरुको भीड लाग्ने गरेको थियो । तर नहरको मुहान जिर्ण बन्दै गए पछि र वरपरको वातावरण पनि फोहोर भए पछि मानिसहरु आउन छाडेको स्थानीय बताउछन् । यहाँ रहेका आधा दर्जन राणा शैलीका कलात्मक भवनहरु जिर्ण भएका छन् । कतिपय भत्किएर गएका छन् । मुख्य चोकमा रहेको राणाकालिन आवास गृह सप्तकोशी नगरपालिकाले बाल उद्यान निर्माण गर्ने भन्दैं भत्काएको छ । स्थानीय सरकारले बनभोज स्थल बनाउने भनेर केही घेरावार गरे पनि व्यवस्थित बनाउन सकेको छैन् ।

यहाँ आधा दर्जन भवनहरु मुगल शैलीका दिए । पूर्व आएका बेला श्री ३ चन्द्र सम्शेर आराम गर्ने भवन, आवाज गृह, अतिथि गृह, चमेना गृह, गोदाम घरलगायतका भवनहरु थिए । ती सबै भवन पुराना इटाबाट निर्मित थिए । ती भवनहरुलाई संरक्षण गरेर चन्द्र सम्शेरको अवशेसहरुबारे थप संरचना निर्माण गरि यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउने सम्भावना भए पनि स्थानीय सरकार असफल भएको छ ।

फत्तेपुरदेखि बरमझियासम्म नहर संरक्षण गर्न बनेका तीन–चारवटा भवनसमेत जीर्ण अवस्थामा छन् । सरोकारवाला निकायले चासो नदिँदा खण्डहरमा परिणत भएको स्थानीयको भनाइ छ । सप्तकोसी नगरपालिका–१ का हेमनरसिंह कार्कीले समयमै सचेत नहुने हो भने बाँकी भवनका इँटासमेत चोरी भएर सकिने बताए । भवनमा लगाइएका झ्याल, ढोका र सिँढीका काठ मक्किएका छन । कतिपय काठ स्थानीयले आगो बालेर तापि सकेका छन् । पूर्खाको चिनो, चन्द्र सम्शेरको अवशेष जोगाउन नगरपालिकाले नयाँ योजना ल्याउनु पर्ने कार्कीको भनाई छ ।